उत्कृष्ट प्रदेश बनाउने अभियानमा जुटेका छौ : मुख्यमन्त्री पोखरेल 

तुलसीपुर, १२ फागुन

प्रदेश ५ मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ लाई मुलुककै उत्कृष्ट र समृद्ध प्रदेश बनाउने अभियानमा जुटेको बताउनुभएको छ  ।  प्रदेश सरकारले आयोजना गरेको ‘प्रदेश एक्स्पो’ को समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताउनु भएको हो ।

अभियानमा जनताको साथ र सहयोग जुटाउनका लागि एक्स्पोको आयोजना गरिएको बताउदै मुख्यमन्त्री पोखरेलले एक्लो प्रयासले उत्कृष्ट  र समृद्ध प्रदेश बनाउन नसकिने बताउनुभयो ।

‘प्रदेश ५ लाई मुलुककै उत्कृष्ट र समृद्ध प्रदेश बनाउने अभियानमा हामी जुटिरहेका छौं । प्रदेशबासीको साथविना हाम्रो यात्राले गन्तव्य चुम्न सक्दैन’, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘समृद्ध प्रदेश बनाउने अभियानकै रुपमा हामीले प्रदेश एक्स्पोको आयोजना गरेका हौं । एक्स्पोमा दिएझैं साथ र सहयोग आगामी दिनमा पनि दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा रहेको छ ।’

सो अवसरमा प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री तथा कार्यक्रमका सभापति कुलप्रसाद केसीले प्रदेश एक्स्पोले सफलता हासिल गरेकाले  अब लगानी सम्मेलनमा प्रदेश सरकारको ध्यान केन्द्रीत हुने बताउनुभयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा फागुन १० गते शनिबारदेखि सुरु भएको प्रदेश एक्स्पोमा प्रदेश ५ का मन्त्रालय, प्रदेशका सम्पूर्ण जिल्ला समन्वय समिति, स्थानीय तह र प्रदेशभित्रका विभिन्न संघसंस्थाहरुले आफ्नो परिचय खुल्ने सामग्रीहरु प्रदर्शनीमा राखेका थिए । प्रदेश एक्स्पोमा प्रदेशभित्रका सं झाँकीहरुसमेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २०७६ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया