सर्वोच्चको आदेश पछि विप्लवका दुई नेता रिहा

दाङ, ९ फागुन ।

सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई नेता रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशपछि विप्लव समूहका राप्ती ब्यूरो कार्यालय सचिव बालकृष्ण पोखरेल (सविन) र राप्ती ब्युरो सदस्य तथा दाङ जिल्ला सेक्रेटरी प्रदीप वली विहिवार साँझ रिहा भएका हुन्।

उनीहरुलाई गत असोज ३० गते दाङ र भारतको सीमानाका क्षेत्र राजपुर गाउँपालिकाको मुङग्रेठाबाट प्रहरीले पक्राउ गरेको थियो । राप्ती ब्युरो बैठकबाट पक्राउ पर्नेमा विप्लवका समूहका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंग’ सहित २१ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ पछि उनीहरूलाई प्रहरीले ७२ दिनसम्म घोराही र तुलसीपुरको हिरासतमा राखेको थियो। दाङ देउखुरी जिल्ला अदालतले पक्राउ परेका २१ जना नेताहरुलाई १५÷१५ हजार धरौटीमा रिहा गर्न आदेश जारी गरे पनि प्रहरीले पटकपटक अदालत परिसरबाटै पक्राउ गरेर हिरासतमा राख्दै आएको थियो ।

दाङको तुलसीपुर कारागारबाट जिल्ला अदालतको आदेश अनुसार धरौटीमा रिहा भएलगत्तै फेरि पोखरेल र वलीलाई पक्राउ गरी नवलपरासी लगिएको थियो।पक्राउ परेका दुबै नेताका परिवारले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए। बन्दीप्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ गर्दै बिहीबार सर्वोच्चले उनीहरूलाई रिहा गर्न आदेश दिएको हो ।

प्रकाशित मिति : २०७६ फाल्गुन ९ गते शुक्रवार
प्रतिक्रिया