प्राकृतिक दोहन रोक्ने तयारी

काठमाडौँ, माघ  ।

सरकारले ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थको उपयोगका लागि नयाँ मापदण्ड निर्माण गरी अनियन्त्रित प्राकृतिक दोहन रोक्ने तयारी गरेको छ । सरकारले ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन र बिक्री वितरणसम्बन्धी नयाँ मापदण्ड निर्माण गरी अनियन्त्रित प्राकृतिक दोहनलाई रोक्न लागेको हो ।

उक्त मापदण्ड सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रायका लागि कानुन मन्त्रालयमा पठाएको छ । नयाँ मापदण्डअनुसार गाउँपालिका र नगरपालिकाले आफ्नो क्षेत्रभित्रका नदीजन्य पदार्थको उत्खनन र बिक्री वितरणका लागि कार्ययोजना तयार गरी कार्यपालिकाबाट पारित गरेपछि मात्र कार्यान्वयनमा ल्याउनुपर्नेछ । प्रत्येक वर्ष ठेक्का सम्झौता गर्नुपूर्व वातावरणीय अध्ययन प्रतिवेदन सम्बन्धित निकायबाट स्वीकृत गर्नुपर्नेछ ।

घनाबस्ती र वन क्षेत्रको दुई किलोमिटर र राजमार्गको पाँच सय मिटर दूरीभित्र ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन र सङ्कलन गर्न नपाइने नयाँ मापदण्डमा उल्लेख गरिएको छ । त्यस्तै सडक, पक्की पुल र झोलुङ्गे पुलका एक किलोमिटर तल र पाँच सय मिटर माथिबाट नदीजन्य पदार्थको उत्खनन र सङ्कलन गर्न नपाइने ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री वितरणसम्बन्धी प्रस्तावित नयाँ मापदण्डमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७६ माघ २३ गते बिहिवार
प्रतिक्रिया