शान्तिनगरको गाउँसभा सुरु

तुलसीपुर, १४ माघ

शान्तिनगर गाउँपालिकाको ७ औं गाउँसभा मंगलबारदेखि शान्तिनगर–३ चिरेघाटमा सुरु भएको छ । गाउँसभामा कृषि विकास विधेयक तथा स्वास्थ्य नीतिको प्रस्ताव समाजिक विकास समितिका संयोजक तथा वडा नं.४ का वडाध्यक्ष धनबहादुर केसीले पेश गरेका थिए भने गाउँपालिकाको तथ्याङ्क तथा अभिलेख व्यवस्थापन विधेयक, पूर्वाधार विकास व्यवस्थापन सम्बन्धी विधेयक, त्यसैगरी गाउँपालिकाको स्वास्थ्य ऐन, स्थानीय वन ऐन, र संस्था दर्ता विधेयक, विधायन समितिका संयोजक रवि बुढाथोकीले प्रस्ताव पेश गरेका थिए ।

प्रस्तावित विधेयकमा दफावार छलफल सुरु भएको छ । त्यस्तै आर्थिक बर्ष २०७६/०७७ को विनियोजित बजेट तथा कार्यक्रम माथि पनि संशोधन गरिने शान्तिनगर गाउँपालिका प्रेस सल्लाहाकार निराश पाण्डेले जानकारी दिए । विनियोजित बजेट तथा कार्यक्रम संशोधनका लागि १ देखि ७ नम्बरसम्का वडा र स्वास्थ्य शाखाले पनि प्रस्ताव अघि सारेको छ ।

वडाबाट अघि सारिएका संशोधित योजनाहरु न्युनतम ५० हजार देखि ७ लाखसम्मका छन् । गाउँपालिका अध्यक्ष कमानसिङ डाँगीको अध्यक्षतामा बसेको बैठकले कार्यपालिका सदस्य पुनिराम कामीको निधन प्रति दुःख व्यक्त गर्दै शोक पारित समेत गरेको छ ।

गाउँसभाका न्यायीक समितिका सदस्य पुनिराम कामीको मृत्युको सोक प्रस्ताव गाउँपालिका अध्यक्ष डाँगीले पेश गरेका थिए । गाउँसभाको बैठक बुधबार पनि बस्ने छ । गाउँसभाको सहजीकरण गाउँपालिका प्रशासन प्रमुख कृष्ण कडेलले गरेका थिए ।

प्रकाशित मिति : २०७६ माघ १४ गते मङ्गलवार
प्रतिक्रिया