८ लाख घूस सहित गाउँपालिका अध्यक्ष पक्राउ

तुलसीपुर,१० माघ
आठ लाख घुस सहित अख्तियारको टोलीले जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी सहित दुई जनालाई पक्राउ गरेको छ ।

घूस लिएको विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतले र अध्यक्ष केसी र सोही गाउँपालिकाका उपाध्यक्ष शिवा आचार्यका श्रीमान् चन्द्रबहादुर बस्नेतलाई घूस रकम सहित पक्राउ गरेको हो ।

अख्तियारका अनुसार जुनिचाँदे गाउँपालिका–५ का विभिन्न उपभोक्ता समितिमार्फत भएका विकास निर्माणका काममा घूस लिएको भन्ने सूचना पाएपछि आज दिउँसो करिब २ बजे अध्यक्ष केसीसहित बस्नेत कटकुवा हेल्थपोस्टनजिकैबाट पक्राउ परेका हुन् ।

सडक निर्माण उपभोक्ता समितिको बिल पास गरिदिने नाममा घूस मागेको जानकारी आएपछि अख्तियारको उपभोक्ता समितिका पदाधिकारीको सहयोगमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रवक्ता मेघराज सापकोटाले बताए ।

प्रकाशित मिति : २०७६ माघ १० गते शुक्रवार
प्रतिक्रिया