धादिङमा यात्रु बोकेको मिनिट्रक दुर्घटना, ६ जनाको मृत्यु

धादिङ, ७ माघ ।
धादिङमा यात्रु बोकेको मिनिट्रक दुर्घटना भएको छ । मंगलवार भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । घटनामा १९ जना भन्दा धेरै यात्रु घाइते छन् । घाइतेहरूको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । केहीलाई काठमाडौं लैजाने तयारी भईरहेको छ ।

 

ज्वालामुखी गाउँपालिकामा रहेको मण्डलीथान दर्शन गरेर निलकण्ठ नगरपालिका २ को भुलभुले आउँदै गरेका दर्शनार्थीहरू चढेको ग १ ख ८०१२ नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो । मृत्यु हुनेहरूको सनाखत भइनसकेको प्रहरीले बताएको छ । ट्रकमा करिब ४५ जना चढेको अनुमान गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ माघ ७ गते मङ्गलवार
प्रतिक्रिया