भारतमा मृत फेला परेका वडा अध्यक्षको रहस्य खुल्यो

नेपालगन्ज , ३ माघ । भारतको बहराईचमा रहेको एक होटलमा गत बुधबार मृत अवस्थामा फेला परेका बाँकेको कोहलपुर १२ का वडाध्यक्ष कृष्ण बहादुर खड्काले आत्महत्या गरेको पुष्टि भएको छ ।कोहलपुर नगरपालिकाका प्रवक्ता माधव रिजालले खड्काले आत्महत्या गर्नुभन्दा अघि लेखेको सुसाइड नोट होटलमा फेला परेको जानकारी दिए । खड्काको मृत्युलगत्तै कोहलपुर नगरपालिका र नेकपाका नेता सम्मिलित टोली बुधबार बहराईच पुगेको थियो । टोलीमा सहभागी प्रवक्ता रिजालका अनुसार बैंकमा ऋण भएका खड्काले बैंकबाट विभिन्नखाले यातना पाएका कारण आत्महत्या रोजेको चिठीमा उल्लेख गरेका छन् ।
सिद्धार्थ बैङ्कमा वडाध्यक्ष खड्काको करिब २० लाख ऋण भएको बताईएको छ । खड्काको शव भारतमा औपचारिक प्रक्रिया पुरा गरि बिहिवार कोहलपुर स्थित निवासमा ल्याइएको छ । उनको शुक्रबार अन्तिम संस्कार गरिने भएको छ ।खड्काले आत्महत्याका लागि उपयुक्त ठानेर बहराईचको शंकर होटल रोजेको पत्रमा उल्लेख छ ।स्थानीय निर्वाचनमा उनी नेकपा एमालेबाट विजयी भएका थिए । खड्का मंगलबार बिहान जमुनाह नाकाबाट रुपैडिया प्रवेश गरेको सिसिटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ माघ ३ गते शुक्रवार
प्रतिक्रिया