सूचना प्रविधि विधेयकका विरुद्ध अदालत जाने पत्रकार महासंघको चेतावनी

काठमाडौ, २९ पुष । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सूचना प्रविधि विधेयकका विरुद्ध अदालत जाने चेतावनी दिएका छन् । विधेयकका केही बुँदाहरुले मौलिक हक सम्बन्धी व्यवस्थाहरुलाई कटौती गरी कठपुतली अदालत गठन गर्न खोजेको भन्दै आचार्यले यसको विरुद्ध अदालत जाने चेतावनी दिएका हुन् ।
सूचना प्रविधि विधेयक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा विषयक अन्तरक्रिया कार्यक्रममा आचार्यले समितिमा संशोधन भएका केही बुँदाहरु राम्रा भए पनि केही बुँदाहरुमा सजाय थपको व्यवस्था भएकोप्रति आपत्ति जनाएका छन् । नेपाल बार एशोसिएसन लगायतका संघ संस्थाहरुसँग पत्रकार महासंघले सहकार्य गरेर सातै प्रदेशमा जाने, विधेयकको विरुद्धमा सदनसम्म विज्ञप्ती मार्फत रोकियोस् भनेर आग्रह गर्ने र सडकमा पनि जान सक्ने सहमति भएको उनले बताएका छन् ।

एक वर्षभन्दा बढी फौजदारी सजाय हुने कुरामा अर्धन्यायिक निकायलाई संविधानले अधिकार नदिएको भए पनि विधेयकले संविधानको गम्भीर उलङ्घन गरेको उनको भनाई छ ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालले सत्तापक्ष र प्रतिपक्षले यो विषयमा सहकार्य गरेर टुंगो लगाउनुपर्ने बताए ।गिरीजाप्रसाद कोइरालाको पालामासमेत नियन्त्रण नै गर्न खोजिएको र आज केपी ओलीको पालामा पनि त्यही नियती दोहोरिएको उनको भनाई छ ।

प्रकाशित मिति : २०७६ पुष २९ गते मङ्गलवार
प्रतिक्रिया