श्रेष्ठ हत्या प्रकरण: एक जनालाई जन्म कैद र अन्य ७ जनालाई १६ वर्ष सम्मको कैद

लक्ष्मण विश्वकर्मा,तुलसीपुर,२४ पुस ।

दाङ तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको अपहरण पछि हत्या भएको घटनाको अढाई वर्ष पछि मुद्धा फैसला भएको छ । सल्यानमा घटना घटेकाले जिल्ला अदालत सल्यानबाट मुद्धा चलाईएको थियो । जिल्ला न्यायाधिस कुल प्रसाद पाण्डेको ईजलासले यहि पौष ४ गते दोषी उपर कसुर निर्धारण गदै पौष १५ गते मुद्धा फैसला सुनाउदै व्यापारी श्रेष्ठको अपहरण र हत्या आरोपमा पक्राउ परेका ८ जनालाई कारागार चलान र तिन जनाले सफाई पाएका छन् ।

अदालतले घटनाका मुख्य योजनाकार भनिएका तुलसीपुर ८ का २८ वर्षिय भुपेन्द्र भण्डारी, तुलसीपुर ११ कटाहाका ३० वर्षिय खुम बहादुर केसी र जमा पुनलाई निर्दोष ठहर गदै सफाई दिएको हो । सोहि घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका अन्य ८ जनालाई अदालतले कर्तव्य ज्यान मुद्धा र अपहरण सम्वन्धि मुद्धामा छुट्टाछुट्टै कैद सजाय तोकेको छ ।

जसमा दाङ शान्तीनगर गाउपालिका घर भई हाल तुलसीपुर ६ निवासी ४० वर्षिय टिकाराम घर्तिलाई कर्तव्य ज्यान मुद्धामा जन्मकैद सजाय सुनाईएको छ । अदालतका श्रेस्तेदार दिपक पोख्रेलका अनुसार घर्ति विरुद्ध थप अपहरण मुद्धामा १२ वर्ष कैदको सजाय तोकिएकोे छ । यस्तै अबिरल महतरालाई कर्तव्य ज्यान मुद्धामा ५ बर्ष र अपहरण मुद्धामा ९ बर्ष कैद र थप दुई वर्ष गरि १६ बर्ष कैद सजाय सहित ५० हजार रुपैँया जरिवानाको फैसला सुनाईएको छ । यस्तै सल्यान झिम्पे ४ का मान बहादुर भण्डारी, मन बहादुर पुन, नारायण वली र रुगद थापालाई कर्तव्य ज्यान मुद्धामा ५ बर्ष कैद र अपहरण मुद्धामा ८ बर्ष कैद र थप दुई वर्ष गरि १५ बर्ष कैद सजाय सहित ५० हजार रुपैया जरिवानाको फैसला सुनाईएको छ ।

यस्तै पुजा घर्तीलाई ८ बर्ष र थप दुई वर्ष गरी १० बर्ष कैद सहित ५० हजार जरिवाना तथा बिरे घर्तीलाई ७ बर्ष थप २ बर्ष कैद गरि ९ बर्ष सहित ५० हजार जरिवानाको फैसला सुनाईएको छ । घटनामा १४ जना संलग्न भएको भनिएता पनि ११ जना अभियुक्तहरु मात्रै पक्राउ परेका थिए ।
अन्य तिन जना अझै फरार रहेको प्रहरीले जनाएको छ । फरार हुनेमा दैलेख जिल्लाका लोकेन्द्र शाही र अन्य दुई जना रहेको प्रहरीले बताएको छ । २०७४ साल जेठ २६ गते साँझ अपहरण गरी तिन दिन पछि सल्यानको छत्रेश्वरी गाउपालिका वडा नं. ४ झिम्पे भन्ज्याङ भन्ने स्थानमा श्रेष्ठको शव फेला परेको थियो ।

घटना पछि प्रहरीले विशेष अनुसन्धान गर्दैै जादा घटनामा संलग्न भएको आसंकामा दुई जना व्यक्तिलाई पक्राउ गरेपछि मात्र उनीहरुले दिएको सुचनाका आधारमा श्रेष्ठको हत्या भएको स्थान र शवको पहिचान भएको हो । त्यसपछि उनीहरुकै बयानको आधारमा पोखराबाट संकापस्द पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा तुलसीपुरका रुपक थापा मगर र अविरल महतरालाई दाङ ल्याए पछि मात्रै उनीहरु दुवै जना घटनामा संलग्न भएको प्रहरीले पुष्टि गरेको हो ।

उनीहरुले श्रेष्ठलाई अपहरण गरी उनको घरपरिवार संग तिन करोड फिरौती रकम मागेका थिए । यस्तै श्रेष्ठसँगै घोराहीका ठेकेदार रणबहादुर घर्तिको पनि अपहरणपछि हत्या भएको थियो । यसैविच, जिल्ला अदालत सल्यानले गरेको फैसलाले आफुलाई उचित न्याय नदिएको पिडित पक्षको भनाई छ । घटनाको मुख्य योजनाकार भनिएका भुपेन्द्र भण्डारीलाई सफाई दिनुले न्यायालय प्रति शंका उब्जिएको उनको परीवारको भनाई छ ।।

 

प्रकाशित मिति : २०७६ पुष २४ गते बिहिवार
प्रतिक्रिया