काँग्रेस जिल्ला सभापतिहरूको भेला जारी

काठमाडौ, २२ पुष ।
नेपाली काँग्रेसका जिल्ला सभापतिहरूको भेला मंगलवार पनि चल्ने भएको छ । सभापति शेरबहादुर देउवाले पार्टीलाई एकलौटी रूपमा चलाउन खोजेको भन्दै महामन्त्री शशाङ्क कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेलको आह्वानमा हिजोदेखि पार्टी कार्यालय सानेपामा भेला सुरु भएको हो । यद्यपी भेलालाई परामर्श बैठकको रूपमा काँग्रेस संस्थापन पक्षले व्याख्या गरेको छ । सोमवार १४ जिल्लाका सभापतिहरूले पार्टीमा पछिल्लो समयमा देखिएको विवाद र समाधानका उपायका बारेमा आआफ्नो धारणा राखेका थिए । आजको बैठक बिहान ११ बजे सुरु हुने छ ।

बुधवार सम्म बैठक लम्बिनसक्ने नेता सञ्जयकुमार गौतमले बताए । भेलामा सहभागीहरूले आफ्नै समूहका नेताको कार्यशैली र व्यवहारप्रति पनि प्रश्न उठाएका छन् । सभापति देउवाले यही पुस ११ को विधान विपरीतका निर्णय नसच्याए केन्द्रको निर्देशन आफूहरूले जिल्लामा नमान्ने चेतावनीसमेत जिल्ला सभापतिहरूले दिएका छन् । जिल्ला सभापतिहरूले २०७५ पुस ९ गते सम्पन्न महासमिति बैठकको निर्णयअनुसार केन्द्रीय पदाधिकारीसहित सदस्यहरू वडाबाटै निर्वाचित हुनुपर्ने र समानुपातिक तथा आरक्षण कोटा ‘एक व्यक्ति एक अवसर’ का रूपमा लिनुपर्ने प्रावधान राख्नुपर्नेमा जोड दिएका नेता गौतमले बताए ।

प्रकाशित मिति : २०७६ पुष २२ गते मङ्गलवार
प्रतिक्रिया