दाङका एसपी भट्टराईविरुद्ध मुद्धा दर्ता

दाङ, २० पुष

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनक भट्टराईविरुद्ध अदालतमा अवहेलनाको मुद्धा दर्ता भएको छ । रातो पाटीले लेखेको खबर अनुसार बिहीबार भट्टराईविरूद्ध दाङ देउखुरी जिल्ला अदालतमा अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको हो । निवेदनमा जिल्ला प्रहरी प्रमुख भट्टराई र जिल्ला प्रहरी कार्यालय दाङलाई विपक्षी बनाइएको छ । घोराही उपमहानगरपालिका–१६ निवासी शिबा बोहरा, घोराही १७ निवासी छिमा पुन, तुलसीपुर उपमहानगरपालिका – १२ निवासी सीता ओली र लमही नगरपालिका – ३ निवासी उमिरलाल चौधरीले प्रहरी प्रमुख भट्टराईविरूद्ध अदालतको अवहेलना मुद्दा दर्ता गराएका हुन् ।

अदालतको अवहेलना गर्ने प्रहरीविरूद्ध एक वर्ष कैद र दस हजार रुपैयाँ जरिवाना माग गर्दै निवेदकहरूले निवेदन दर्ता गराएको अधिवक्ता निर्मल गौतमले जानकारी दिए । अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको भन्दै जिल्ला बार एशोसियसन दाङले घटनाको छानविन गर्न माग गरेको थियो । बारका जिल्ला सचिव किरण कुमार रेग्मीले एक प्रेस विज्ञप्ती जारी गरेर धरौटीमा अदालतले छोड्न आदेश दिएपछि धरौटी बुझाउनेक्रममा विधिको शासनको उलंघन गर्दै पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् ।

अदालतले धरौटीमा छोड्न आदेश दिएपनि विप्लवका कार्यकर्ता भन्दै चार जनालाई अदालत परिसरभित्रै लछारपछार पार्दै पक्राउ गरेपछि उनीहरूका परिवारले प्रहरी प्रमुखविरूद्ध अदालतमा मुद्दा दर्ता गराएको पिडित परीवारले जानकारी दिएका छन् । धरौटीमा छुटेकाहरुलाई पुन पक्राउ गरेर कपिलवस्तु लगिएको छ । प्रहीले लछारपछार गरेको सिसिटिभिको फुटेज अदालतसँग पनि सुरक्षित रहेको बताइएको छ । धरौटी बुझाउने काउन्टरमा दुवै पक्षबाट धकेलाधकेल हुँदा त्यहाँ कार्यरत कर्मचारीहरु नै काम छाडेर भागेका थिए ।

चार जनाविरूद्ध अदालतले बुधबार मात्रै जनही १५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो । तर, धरौटी बुझाउँदै गर्दा प्रहरीले मुद्दा दर्ता कक्षमै विप्लवका पक्राउ परेका नेता र परिवारका सदस्यहरूलाई लछारपछार पार्दै पुनः पक्राउ गरेको छिमा पुनले बताइन् । गत असोज ३० गते जिल्लाको राजपुर गाउँपालिकास्थित जंगलबाट नियन्त्रणमा आएका २१ जनामध्ये चार नेता बुधबार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो ।

प्रकाशित मिति : २०७६ पुष २० गते आइतवार
प्रतिक्रिया