सुर्खेतमा ३ सय छाउँगोठ भत्काईयो

सुर्खेत, २० पौष ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सुर्खेतमा ३०० छाउगोठ भत्काईएको छ ।सरकारले छाउगोठ हटाउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी नेतृत्वको टोलीले तीन दिनको अवधिमा तिन सय छाउगोठ भत्काएको हो । जिल्ला प्रशासन कार्यालयले पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा छाउगोठ भत्काउने अभियानलाई पहिलो प्राथमिकतामा राखेको छ । यहाँका यी तीन स्थानीय तहमा छाउपडी कुप्रथा व्याप्त रहेको छ । यसअघि विभिन्न गैरसरकारी संस्थाको पहलमा छाउपडीमुक्त घोषणा गरिए पनि स्थानीयले पुनः छाउगोठ निर्माण गरी प्रयोगमा ल्याएका हुन् ।
पछिल्लो समय छाउगोठमा महिलाको मृत्यु हुने क्रम बढेपछि गृह मन्त्रालयले स्थानीय प्रशासनलाई त्यस्ता छाउगोठ हटाउन कडा निर्देशन दिएको हो । सुर्खेतमा करिब एक हजार ८०० छाउगोठ रहेको बताइएको छ । प्रजिअ अधिकारीले छाउगोठ हटाउने अभियानमा स्थानीय जनप्रतिनिधि, महिला अगुवाहरुको समेत सक्रिय सहभागिता रहेको बताएको छ । उनका अनुसार स्थानीय तहमा छाउगोठ हटाउन समिति गठन गरिएको छ ।

प्रकाशित मिति : २०७६ पुष २० गते आइतवार
प्रतिक्रिया