फिरौती माग्न लगाउने योजनाकार चन्द ठकुरी पक्राउ

तुलसीपुर, १७ पौष । डर धम्की दिदै घोराहीका एक व्यक्ति संग फिरौती माग गर्न लगाउने योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । घोराही १५ बस्ने एक व्यक्तिलाई डर धम्की देखाई एक हप्ता अघि तेह्र लाख फिरौती मागेको आरोपमा बुधवार पक्राउ परेका रोल्पा परिवर्तन गाउँपालिका ५ राङकोट बस्ने ३४ बर्षिय राजकुमार नेपालीको बयानका आधारमा रून्टिगढी गाउँपालिका वडा नम्वर ४ मसिना बस्ने ३२ बर्षिय नरेश चन्द ठकुरीलाई विहिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । फिरौती माग्न लगाउने ठकुरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका ठकुरी माथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तेह्र लाख फिरौती मागे पनि पिडित पक्षले बुधवार तिन लाख नक्कली पैसा दिने क्रममा नेपाली पक्राउ परेका थिए । पिडितले प्रहरीलाई जानकारी गराएपछि त्यसैको आधारमा खटिएको प्रहरी टोलीले तिन लाख रुपैया दिने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पिडितले तिन लाख दिन्छु भन्दै नक्कली पैसा दिने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो । साथै पक्राउ परेका नेपालीको साथबाट एक थान कटुवा पेस्तोल, एक थान गोली र उनी सवार मोटरसाईकल समेत बरामद गरिएको छ ।

प्रकाशित मिति : २०७६ पुष १७ गते बिहिवार
प्रतिक्रिया