घुम्न जाउँ तुलसीपुरको तयारी अन्तिम चरणमा,भोली भव्य रुपमा उद्घाटन हुदै

तुलसीपुर, १५ पौष । तुलसीपुर उपमहानगरपालिकाले १ लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सुरुवात गर्न लागेको घुम्न जाउँ तुलसीपुर अभियानको भव्य सुरुवात हुने भएको छ । तुलसीपुरको गणेशपुर पार्कमा २०२० को सुरुवातसँगै अभियानको थालनी गरिने छ । उद्घाटन कार्यक्रमलाई भव्य वनाउनका लागि तयारी अन्तिम चरणमा पुगेको तुलसीपुर उपमहानगर स्तरिय पर्यटन प्रर्वद्धन समितिको सचिवालय समितिका संयोजक रुपवहादुर खत्रीले जानकारी दिए । उनका अनुसार तुलसीपुरको मुख्य वजारबाट विभिन्न साँस्कृतिक झाँकी सहति र्यालीको सुरुवात भइ गणेशपुर पार्कमा विशेष कार्यक्रमको आयोजना गरिनेछ । अभियानको प्रदेश नम्वर ५ का सभामुख पूर्णवहादुर घर्तिले भोलि (बुधवार) १ वजे उद्घाटन गर्नेछन् ।

कार्यक्रमका लागि यस क्षेत्रका सबै सभासद, नेता र संघसँस्थाहरुलाई निमन्त्रणा गरिएको पनि संयोजक खत्रीले जानकारी दिए । कार्यक्रममा गायक समिर आचार्य र प्रेम विवश घर्ती लगायत स्थानीय कलाकारको समेत प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । उद्घाटन कार्यक्रममा एकवर्ष भरि गरिने पर्यटन लक्षित कार्यक्रमको तालिका समेत सार्वजनिक गरिनेछ । उपमहानगरपालिकाले वर्षभरि नै भ्रमण वर्षलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्ने भएको छ । विभिन्न संघसंस्थाको समन्वयमा ति कार्यक्रमहरु गरिने भएको हो । अभियानको अवसर पारेर विभिन्न साँस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिने भएको छ । उपमहानगरपालिकाले अभियानको प्रचारप्रसार स्वरुप देशका विभिन्न भागमा यहाँका पर्यटकीय चिनारी सहितको व्रोसर वितरण गरिसकेको छ ।
के गर्दैछ उपमहानगर ?
भ्रमण वर्षलाई लक्षित गरेर तुलसीपुर उपमहानगरले विभिन्न ठाउँमा होमस्टे सञ्चालन गरिसकेको छ । विभिन्न जाति र समुदायका व्यक्तिहरुबाट सञ्चालन गरिएका होमस्टेहरुमा पर्यटकहरुलाई स्थानीय साँस्कृतिक प्रस्तुतिका साथमा परिकारहरु समेत खुवाईने व्यवस्था गरिएको छ । सञ्चालनमा आइसकेका होमस्टेहरुमा वडा नम्वर ८ को वटोलपुर, वडा नम्वर ७ को पर्सेनी कुमाल गाउँ, वडा नम्वर ३ को राम्री धामा , वडा नम्वर १९ को छिल्लीकोट लगायतका रहेको सदस्य सचिव यशोदा वलीले जानकारी गराइन् । उनका अनुसार गणेशपुर पार्क, चमेरे गुफा लगायतका ठाउँमा पनि तयारी भइरहेको छ । पर्यटकहरुलाई घुम्न सहज होस् भन्नका लागि उपमहानगरपालिकाले सहयोग डेस्कको समेत व्यवस्था गरेको छ । “सहयोग डेस्क मार्फत पर्यटकलाई सबै कुराको जानकारीका साथै व्यवस्था समेत गरिने छ ” सदस्य सचिव वलीले जानकारी गराइन् । यसैगरी उपमहानगरपालिकाले भ्रमण वर्ष लक्षित गरेर तिन खालका कार्यक्रमलाई केन्द्रमा राखेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । नगरप्रमुख पाण्डेका अनुसार प्रचारप्रसार, पर्यटकीय केन्द्रको भौतिक सुधारका साथै पर्यटकहरु रमाउने संरचना निर्माणमा उपमहानगरपालिकाले योजना अगाडि वढाएको छ ।

प्रकाशित मिति : २०७६ पुष १५ गते मङ्गलवार
प्रतिक्रिया