बाल विवाह प्रति सरोकारवालाको चिन्ता

तुलसीपुर, १४ पुष 

बाल विवाहलाई समाजले अपराधको रुपमा स्वीकार गर्न नसकेका कारण न्युनिकरण हुन नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् । बाल विवाह सम्बन्धी हाल भएका कानुनी तथा सामाजिक अवरोध र यसले किशोर किशोरीहरुको समग्र जीवनमा पारेको प्रभावका विषयमा तुलसीपुरमा ओरेक दाङले आयोजना गरेको कार्याशाला गोष्ठिका सरोकारवाला निकायका प्रतिनिधीले यस्तो निश्कर्ष निकालेका हुन् । ‘कानुन छ, कारबाही हुन्छ भन्ने एकोहोरो सिकाई मात्र भयो,’ ओरेक नेपालकी व्यवस्थापक टिका दहालले भन्नुभयो–‘जसकारकारण झनै अपराधिकरण तर्फ अघि बढ्यो ।’

समाजले विवाहलाई अपराधका रुपमा स्वीकार गर्न नसक्नु र प्रहरीले कारबाही गर्छ भन्ने बाहयक अरु नसिकाउदा यो समस्या झनै जटील बन्दै गएको बताउदै दहालले यौन शिक्षाको जानकारी र उमेर अनुसारको परामर्श पनि उनिहरुलाई दिनुपर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न विद्यालयबाट सहभागी प्रधानाध्यापकहरुले बाल विवाहको झनझट सबै भन्दा बढि विद्यालयले व्यहोर्नु परेको बताउदै पढाउने भन्दा पनि उनिहरुलाई खोज्नु पर्ने समस्यले सताउने गरेको बताए । ‘घरमा, विद्यालयमा सबै ठाउँ २० बर्ष नपुग्दै विवाह गर्नुहुन्न भन्दै सिकाउदै गरिएको छ तर बाल विवाहमा कमि आउन सकेन,’ सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक वसन्त न्यौपानेले भन्नुभयो–‘ परिवारमा पनि यौन शिक्षाका कुरा गर्नुपर्छ र पाठ्यक्रममा पनि यौन प्रजनन्का बारेमा समेट्नु पर्छ ।’

कार्यक्रमा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख राजन गौतमले कारबाही भन्दा पनि यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो । पक्राउ गरेर थुनेर मात्रै समस्याको समाधान नहुने भन्दैे जनचेतनाम अलि बढी ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभयो । अन्य सहभागीले बाल विवाह दलित, जनजाति र विपन्न वर्गमा बढी देखिएको भन्दै त्यस्ता व्यक्तिहरुलाई लक्षीत गरेर सानै उमेरमा विवाह गर्दा यसले प्रजनन्मा पार्ने असर र प्रभावका बारेमा जानकारी गराउनु पर्ने बताए । सो अवसरमा पत्रकार दुर्गालाल केसीले पछिल्लो समय बाल विवाहको अवस्था, कानुनी जटिलता लगाएतका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा तुलसीपुर उपमहागनरपालिका न्यायीक समिति संयोजक माया आचार्य, महिला मानव अधिकार रक्षक संजालकी केन्द्रीय सचिव लक्ष्मी आचार्य, इन्सेकका विनोद केसी लगाएते बोलेका थिए । कार्यक्रमको सहजीकरण ओरेकी दिपा धितालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७६ पुष १४ गते सोमवार
प्रतिक्रिया