मध्यतराईमा चिसोको प्रभाव , विद्यालय बन्द

रौतहट, १३ पौष । शीतलहरका कारण बढेको अत्यधिक चिसोका कारण मध्य तराईको रौतहट लगायतका जिल्लामा जनजीवन प्रभावित भएको छ । त्यहा ५ दिनदेखि घाम लागेको छैन ।शीतलहरले आइतबार रौतहट सदरमुकाम गौरको जनजीवन नै कष्टकर बनेको छ । त्यहाको तापक्रम ४ डिग्री सेल्सियसमा झरेको छ ।चिसोकै कारण सरकारी कार्यालयमा सेवाग्राहीको संख्या घटेको छ । बाक्लो हुस्सु र शीतलहरले गर्दा यातायातका साधन पनि धेरै कम सञ्चालन भएको छ ।आइतबार तापक्रम निकै घटेका कारण बजार तथा सार्वजनिकस्थलमा समेत चहलपहल घटेको छ । रौतहटका केही स्थानीय तहले सार्वजनिक स्थानमा दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाएको छ । जिल्ला दैवी प्रकोप उद्घार समितिले न्यानो कपडा वितरण गरेको छ ।

विद्यालय बन्द

चिसो बढेका कारण कतिपय स्थानीय तहले विद्यालयमा विदा दिएका छन् । गौर, राजपुर, गरुडा र वृन्दावन नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेको छ । निजी विद्यालयहरु पनि बन्द गरिएको छ । विद्यार्थीहरु कक्षाकोठामै बेहोस हुने र काम्ने समस्या देखा परेका कारण निजी विद्यालयको संगठन प्याबसनले गौरमा सबै संस्थागत विद्यालय विदा दिन सूचना जारी गरेको प्याब्सन गौर नगर कमिटीका अध्यक्ष मुन्ना पटेलले बताए ।चिसोका कारण बालबालिका तथा वृद्धवृद्धा बढी समस्यामा परेका छन् । चिसोले खासगरी दम, स्वासप्रश्वास, उच्च रक्तचाप, मुटु तथा दीर्घरोगी बढी समस्यामा पर्ने चन्द्रपुर अस्पतालका डा। सुवास चौधरीले बताएका छ्न् । डा। चौधरीका अनुसार अस्पतालमा पुराना रोग भएका वृद्धवृद्धाको संख्या धेरै छ ।

प्रकाशित मिति : २०७६ पुष १३ गते आइतवार
प्रतिक्रिया