कुलमान घिसिङद्धारा आँखा दानको घोषणा

काठमाडौ, १२ पौष ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखा दानको घोषणा गरेका छन् । शनिवार तिलगंगा आँखा अस्पतालमा मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक श्रद्धाञ्जली–सभामा उनले आँखा दान गर्ने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद यादवले ट्रमा सेन्टरमा ब्रेनडेथ भएका धेरै बिरामी आउने गरेको बताउँदै विभिन्न अंग दान दिएका अरु व्यक्तिले नयाँ जीवन पाउन सक्ने भएकाले दान गर्नुपर्ने आग्रह गरेका छन् । सात वटै प्रदेशमा डोनेसन सेन्टर बनाउनुपर्नेमा उनले जोड दिएका छन् । कार्यक्रममा नेपाल आँखा बैँकको अक्षय कोषस्थापना गरिएको थियो । जसमा विभिन्न व्यक्तिले सहयोग गरेका थिए । तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले अहिले धेरै मानिसमा देखिएको आँखा दानप्रतिको सकारात्मक सोचको कारणले आँखाको नानी प्रत्यारोपण गरी पुनःदृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भरतातर्फ अग्रसर हुँदै गएको बताए ।

प्रकाशित मिति : २०७६ पुष १२ गते शनिवार
प्रतिक्रिया