तुलसीपुरमा अत्याधुनिक पार्किङ सुरु

तुलसीपुर, ५ पुष

बजारमा बढ्दो सवारी साधनको चापलाई मध्यनजर गर्दै युवाहरुको समुहले तुलसीपुरकाे बरूवा गाउँमा आधुनिक पार्किङ सुरु गरेको छ । तुलसीपुर क्षेत्रमा दिनानुदिन बढ्दै गएको सवारीको चाप तथा अव्यवस्थीत सवारी पार्किङले निम्त्याउन सक्ने संभावित सवारी दुर्घटनालाई न्युनिकरणमा टेवा पुग्नेगरी पार्किङ र वासीङको सेवा सुचारु गरिएको न्यु एरा पार्किङ एण्ड वासीङ जोनका कार्यकारी निर्देशक तीलक बहादुर साहुले जानकारी दिए ।

लगानीको दृष्टिकोणले व्यापारीक भएपनि सेवामुखी व्यवसायी नै भएको दाबी गर्दै कार्यकारी निर्देशक साहुले तुलसीपुर बजारलाई व्यवस्थीत, सुन्दर र राम्रो नगर बनाउन यसले सहयोग पुग्ने बताए । पार्किङमा मोटरसाईकलदेखि जीप, कार, बस, ट्रक सम्मका सवारीसाधनको सुरक्षीत पार्किङको व्यवस्था गरिएको छ ।

यता तुलसीपुर उपमहागनरपालिकाका प्रवक्ता श्याम डाँगीले आधुनिक तवरले निर्माण गरिएको व्यवस्थीत पार्किङले उपमहानगरपालिकालाई पनि सहयोग पुग्ने बताए । ‘तुलसीपुर उपमहानगरपालिकाले स्मार्ट सीटीको अवधारना अघि सारेको छ,’ प्रवक्ता डाँगीले भने– ‘अव्यवस्थीत सवारी पार्किङलाई व्यवस्थीत गर्ने यो पनि एउटा सहयोगी तत्व भित्र पर्दछ ।’

बजारमा घर भएपनि सवारी पार्किङ गर्ने ठाउँ नहुँदा कतिपय व्यक्तिहरु लाखौको सम्पती सडकमा राख्न बाध्य हुदा सडक साँगुरो र दुर्घटनाको पनि जोखिम भएकाले व्यवस्थीत पार्किङले यस्ता समस्याको सहजै समाधान हुने उनले आशा व्यक्त गरे । तुलसीपुर उपमहागनरपालिकाले बजार क्षेत्र भित्र सडकमा अव्यवस्थीत रुपमा पार्किङ नगर्न पटक पटक सूचना जारी गरेपनि त्यसको बैकल्पीक व्यवस्था नहुदा कतिपय सवारी धनीहरु सडकमै गाडी राख्न बाध्य छन् ।

२५ लाख लागतमा निर्माण गरिएको पार्किङमा एक सय बढी ठूला साना सवारी साधन अटाउन सक्ने गरी निर्माण गरिएको यो आधुनिक पार्किङ, तुलसीपुरमा पहिलो भएको बताइएको छ ।

पार्किङमा सिसी क्यामारा, सक्युरेटी गार्डको व्यवस्था गरिएको र सवारी साधन भित्रीदा र बाहिरीदा पूर्ण रुपमा चेकजाँच हुने भएकाले गाडीहरुको पूर्ण रुपमा सुरक्षा हुने नेपाल यातायात स्वतन्त्र  मजदुर संगठन तुलसीपुर उपमहानगर कमिटीका अध्यक्ष केशव बहादुर भण्डारीले बताए । ‘५०/६० लाखका सम्पती भगवान भरोसाका नाममा कसैले बस पार्कमा त कसैले घर छेउका सडकमा राख्छन्,’ अध्यक्ष भण्डारीले भने–‘कसैको डेक चोरी हुन्छ । कसैको लिभर र जग चोरी हुन्छ भने कसैको हावा नै फालिदिएका हुन्छ । यसले गाडीको पूर्ण रुपमा सुरक्षा हुन्छ ।’

 

 

प्रकाशित मिति : २०७६ पुष ५ गते शनिवार
प्रतिक्रिया