बलात्कारको गलत प्रतिवेदन दिने डाक्टर जेलमा

जनकपुर, २ पुष

जनकपुर अञ्चल अस्पतालका २ जना डाक्टरलाई विशेष अदालत काठमाडौंले बलात्कारको गलत प्रतिवेदन दिएकाे भन्दै दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले डा विजयकुमार सिंह र डा रम्भा गोइतलाई दोषी ठहर गरेको हो।  उनीहरुलाई जनही ६ महिना कैद र २५ हजार जरिवाना गर्ने फैसला गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी अस्पतालमा कार्यरत रहेका उनीहरुले अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो । ती डाक्टरले धनुषाकी १२ वर्षीया बालिका बलात्कृत नभएको गलत प्रतिवेदन दिएका थिए।

डा सिंह र डा रम्भा गोइतलाई न्यूनतम चिकित्सकीय आचरण तथा व्यवहार विपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै उनीहरुको व्यावसायिक प्रमाणपत्र निलम्बन गरिएको थियो । घटनाबारे अध्ययन गर्न नेपाल मेडिकल काउन्सिलले गठन गरेको छानबिन समितिले दुई डाक्टरलाई चिकित्सकीय अभ्यासबाट वञ्चित गराउने निर्णय समेत गरेको थियो । २०७५ भदौ ८ गते धनुषाको जनकनन्दिनी गाउँपालिका२ कि बलात्कृत बालिकाको नमुना परीक्षणपछि बलात्कार नभएको प्रतिवेदन उनीहरुले दिएका थिए। अपराधीलाई जोगाउन उनीहरुले यस्तो प्रतिवेदन दिएको अध्ययनमा पाइएको थियो ।

 

प्रकाशित मिति : २०७६ पुष २ गते बुधवार
प्रतिक्रिया