रानागाउँ स्वास्थ्य केन्द्रलाई डेढ कठ्ठा जग्गा दान

लक्ष्मण विश्वकर्मा, तुलसीपुर, १ पौष ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ रानागाउँ निवासी दुई जना जग्गादाताले नगर स्वास्थ्य केन्द्र रानागाउँको भवन निर्माणका लागी आबश्यक पर्ने जग्गादान गरेका छन् ।चालु आर्थिक वर्षमा प्रसुती सेवा सहितको सुविधा सम्पन्न भवन निर्माणका लागी आबश्यक पर्ने जग्गा उनीहरुले उपलब्ध गराएका छन् ।
स्वास्थ्य केन्द्र रानागाउँमा टाईप एकको पाँच कोठे भवन निर्माण हुने भएको हो ।त्यसका लागी स्थानिय जग्गादाताहरुले डेढ कठ्ठा जग्गा उपलब्ध गराएका छन् ।जग्गादान गर्नेहरुमा स्थानिय महानन्द घिमिरे र भुप बहादुर वली रहेका छन् ।उनीहरुले १५÷१५ धुर श्रेष्ता जग्गा उपलब्ध गराएको नगर स्वास्थ्य केन्द्रका प्रमुख खुम प्रसाद न्यौपानेले जानकारी दिएका छन् ।
भवन निर्माणका लागी आबश्यक पर्ने जग्गा व्यवस्थापन गर्न रानागाउँ नगर स्वास्थ्य केन्द्र सन्चालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष चेतमान सेजुवालको संयोजकत्वमा एक समिति गठन समेत गरिएको थियो । स्वास्थ्य मन्त्रालयले टाईप एकको भवन निर्माण गर्नका लागी स्थानिय तहमा छनोट गरेको वडाहरु मध्ये तुलसीपुर ३ पनि परेको हो ।वडा अध्यक्ष विर बहादुर विक(विजय)को पहलमा बजेट विनियोजन भएको हो ।
स्वास्थ्य केन्द्र प्रमुख न्यौपानेले दिएका जानकारी अनुसार घिमिरेले आफनो नाममा रहेको नक्सा नम्वर १ (ख) लाहुरेचौर कित्ता नम्वर ८२८ को ०—० —१५ (पन्ध्र धुर ) र सोहि ठाउँ निवासी भुप बहादुर वलीले नक्सा नम्वर १ (ख) लाहुरेचौर कित्ता नम्वर ९५५ को ० —०— १५ (पन्ध्र धुर ) गरी जम्मा एक कठ्ठा दश धुर जग्गा उपलब्ध गराएका छन् ।
चालु आर्थिक वर्ष भित्र प्रसुती सेवा सहितको भवन निर्माणका लागी मन्त्रालयले कुल ६३ लाख ४६ हजार ६ सय ३० रुपैया बजेट विनियोजन गरेको छ । रानागाउँ नगरस्वास्थ्य जग्गा उपलब्ध तथा व्यवस्थापन समितिका संयोजक सेजुवालको अध्यक्षतामा सोमवार रानागाउँमा बसेको बैठकले जग्गादाताहरुलाई धन्यावाद ज्ञापन समेत गरेको छ ।
स्वास्थ्य भवन निर्माणका लागी जग्गा उपलब्ध गराई सहयोग गरेको भन्दै दुवै जना दानविरलाई धन्यावाद ज्ञापन गरिएको स्वास्थ्य केन्द्र प्रमुख न्यौपानेले जानकारी दिएका छन् ।साथै बैठकले जग्गादाताले उपलब्ध गराएको जग्गालाई नगर स्वास्थ्य केन्द्रका नाममा रजिष्ट्रेशन गरी लिने निर्णय गरेको छ ।रानागाउँमा २०७४ सालमा नगर स्वास्थ्य केन्द्र स्थापना भएको थियो । साविक तुलसीपुर नगरपालिका वडा नम्वर १ को वडा कार्यालयमा स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । अहिले सोहि कार्यालयबाट सेवा प्रवाह भईरहेकोे छ ।
गाउँमै नगर स्वास्थ्य केन्द्र स्थापना भएपछि स्थानियलाई धेरै सहज भएको बताईएको छ । स्वास्थ्य केन्द्र प्रमुख न्यौपानेका अनुसार अहिले दैनिक झन्डै २० जना सेवाग्राही सेवा लिन आउने गरेका छन् । स्वास्थ्य केन्द्रबाट अहिले निमोनिया, रुघाखोकी, दम ,ज्वरो जस्ता विरामीहरुले सेवा लिईरहेका छन् । साथै अहिले खोप सेवा र गर्भवति चेकजाँच सेवा नभएकाले तुलसीपुर उपमहानगर स्वास्थ्य महाशाखा संग आफुले माग गरेको केन्द्र प्रमुख न्यौपानले बताएका छन् ।

प्रकाशित मिति : २०७६ पुष १ गते मङ्गलवार
प्रतिक्रिया