दलित महिला संघद्धारा स्वास्थ्य चौकी बिजौरीलाई न्यानो कपडा हस्तान्तरण

तुलसीपुर, २९ मंसीर ।
दलित महिला संघ जिल्ला शाखा दाङले तुलसीपुरको एक स्वास्थ्य चौकीलाई न्यानो कपडा सहयोग गरेको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १९ तोप्पापानीमा रहेको स्वास्थ्य चौकी बिजौरीमा आईतवार एक कार्यक्रमको आयोजना गरी सुरक्षित प्रसुती सेवाको लागी न्यानो कपडा हस्तान्तरण गरिएको हो । स्वास्थ्य चौकीमा प्रसुती सेवा लिन आउने सेवाग्राहीलाई चिसो मौसमको समयमा समस्या भएको भन्दै स्वास्थ्य चौकीले सहयोगको लागी संस्थालाई अनुरोध गरेकाले आफुहरुले दुई थान बलाङकेट सहयोग गरेको संस्थाकी अध्यक्ष युवा कराराले बताएकी छिन् ।
स्वास्थ्य चौकी प्रमुख शिव तिवारीलाई बलाङकेट हस्तान्तरण गदै अध्यक्ष कराराले प्रसुती सेवा प्रवाहका लागी आफुहरुको सानो सहयोगले केहि सहज हुने विश्वासका साथ स्वास्थ्य चौकीको अनुरोधलाई स्वीकार गरी संस्थाले सहयोग गरेको बताएकी छिन् ।उनका अनुसार १२ हजार रुपैया बराबरको दुई थान बलाङकेट स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो । पिछडीएका महिला र दलित समुदायको हक र अधिकारको सवालमा वकालत गदै आएको बताउदै अध्यक्ष कराराले सुत्केरी महिलाहरुको समस्यालाई ध्यानमा राखेर आफुहरुले सक्दो सहयोग गरेको बताएकी छिन् ।
स्वास्थ्य चौकीका प्रमुख तिवारीले संस्थाले गरेको सहयोग प्रति धन्यावाद दिदै न्यानो कपडाले चिसो मौसममा प्रसुती सेवा लिन आउने सेवाग्राहीलाई धेरै सहज हुने बताएका थिए । स्वास्थ्य चौकीबाट विगत देखी नै गर्भवती चेकजाँच लगाएत विभिन्न सेवा दिदै आएको उनले बताएका छन् । साथै गएको बैशाख महिना देखी स्वास्थ्य चौकीबाट प्रसुती सेवा समेत सुरु गरेकोे जानकारी दिदै उनले हाल सम्म १३ जना महिलाले प्रसुती सेवा लिएको बताएका थिए ।
स्वास्थ्य चौकी सन्चालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष अमर रोकाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडा सदस्य धर्मा श्रेष्ठले संस्थाले सहयोग गरेकोमा धन्यावाद ज्ञापन गरेकी हुन् ।सो अवसरमा कुटेचौर टोल विकास संस्थाका सचिव दुर्गा विश्वकर्मा, महिला स्वास्थ्य स्वंयम सेविका रेखा रोका लगाएतले बोलेका थिए । कार्यक्रममा संस्थाका सामाजिक परिचालक सितारा नेपाली, जानका विश्वकर्माको सहभागिता रहेको संस्थाका कार्यक्रम संयोजक पोषण सेन्चुरीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर २९ गते आइतवार
प्रतिक्रिया