
काठमाडौं ,२८
गृहमन्त्री रामबहादुर थापाले धनुषामा भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई कारवाही गरिछाड्ने प्रतिबद्धता जाहेर गरेका छन् । उनले घटनालाई आततायी भन्दै जतिसक्दो चाँडो अपराधीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए ।
शुक्रबार राति भएको बम विस्फोटमा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको थियो । “यस प्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याइछाड्ने सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु”, फेसबुकमार्फत उनले भनेका छन् ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गए राति भएको विस्फोटमा परी नेपाल प्रहरीका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह, आनन्द साहको मृत्यु तथा तीन स्थानीय घाइते भएका छन् ।
स्थानीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको हो । सोही विस्फोटमा परी घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।
राजेशका कान्छा छोरा प्रकाश, छोरी निक्कीकुमारी र बुबा भिखारी साह तथा प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएका जनाइएको छ । शुक्रबार राति १२ः०० बजे राजेशको नवनिर्मित घरको बाहिर फलामको गेटमा राजेशकी श्रीमती शौचका लागि उठेका बेला केही झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झुण्डिएको झोला बम हो वा होइन भनी अनुसन्धान गर्ने क्रममा विस्फोट भएको थियो ।