सरकारका कार्यक्रम जनतासम्म पु¥याउन स्थानीय तहको भूमिका महत्वपूर्ण

दाङ, मंसिर २५

सरकारका कार्यक्रम जनतासम्म पु¥याउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने दाङबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदहरुले बताएका छन । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम जिल्ला व्यवस्थापन तथा समन्वय समिति दाङको बैठकमा बोल्दै प्रदेश सांसदहरुले भन्नुभयो, ‘संघीय र प्रदेश सरकारका कार्यक्रमहरु जनतासम्म पुग्न सकिरहेका छैनन् । यस्तो अवस्थामा स्थानीयहरुले आफ्नो भूमिकालाई प्रभावकारी बनाउँदै लैजानुपर्दछ ।’मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम जिल्ला व्यवस्थापन समितिका संयोजक जितेन्दमान नेपालीको अध्यक्षतामा बसेको बैठकलाई सम्बोधन गर्दै प्रदेश सांसद रेवतीरमण शर्माले गाउँपालिकाका जनताको जीवनस्तरमा परिवर्तन ल्याउने खालका योजना छनौट गर्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्रीको ड्रिम प्रोजेक्टका रुपमा रहेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई स्थानीय तहले प्राथमिकता दिएको नपाइएको भन्दै सांसद शर्माले वजेट सक्नु भन्दा पनि प्रभावकारितालाई ध्यान दिन गाउँपालिकालाई निर्देशन दिनुभयो । बैठकमा बोल्दै प्रदेश सांसद अमरबहादुर डाँगीले प्रदेश सरकारको जनमुखी र प्रभावकारी कार्यक्रम प्रभावकारी नहुँदा दुःख लाग्ने गरेको बताउनुभयो । अघिल्लो वर्षको कार्यक्रमबाट आफू सन्तुष्ट नभएको भन्दै सांसद डाँगीले यस वर्ष कार्यक्रमको अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

बैठकमा बोल्दै सांसद सरस्वती गौतमले परम्परागत ढंगबाट सञ्चालित तालिमले जनताको जीवनस्तर माथि उठ्न नसक्ने बताउनुभयो । पछाडि पारिएका वर्ग र समुदायका लागि भनेर मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालनमा आएको भन्दै सांसद गौतमले कार्यक्रमलाई लक्षित वर्गसम्म पु¥याउनुपर्ने बताउनुभयो ।

बैठकमा बोल्दै सांसद धमकली चौधरीले क्षमता विकासका कार्यक्रमलाई जोड्नुपर्ने बताउनुभयो । जिल्ला सहजकर्ता गिरिराज भट्टको स्वागत मन्तव्यबाट सुरु भएको बैठकमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बैदेशीक रोजगारमा जाने युवाशक्तिलाई स्वदेशमै रोक्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । बैठकमा कृषि ज्ञानकेन्द्रका प्रमुख कृष्णबहादुर बस्नेत, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधि अर्जुनकुमार डिसी, जिल्ला समन्वय समितिका सदस्य जग्तबहादुर बस्नेत, निमित्त समन्वय अधिकारी सावित्रा श्रेष्ठलगायतले बोल्नुभएको थियो । बैठकको सहजीकरण जिल्ला सहजकर्ता टीकाबहादुर बस्नेतले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७६ मङ्सिर २५ गते बुधवार
प्रतिक्रिया