प्युठान र सर्लाहीमा चार कर्मचारी अख्तियारको फन्दामा

दाङ, २५ मंसीर ।
अख्तियारको टोलीले सर्लाही र प्युठानमा घुस लिने चार जना कर्मचारीलाई पक्राउ गरेको छ । सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन घुस लिँदालिँदै पक्राउ परेका छन् ।काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा घुस लिँदालिँदै करिब २० लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार रनिङ बिल भुक्तानी गरिदिने भनेर उनीहरुले २० लाख रुपैयाँ घुस लिएका थिए । यस्तै उता सर्लाहीको त्रिभुवन नगर प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई)राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादव घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले ५० हजार रुपैयाँ घुससहित उनीहरुलाई पक्राउ गरेको हो ।प्रहरी नायब निरीक्षक राजेशकुमार सिंहलाई कार्यालयबाटै र प्रहरी जवान मनोजकुमार यादवलाई सर्लाहीको ब्रहृमपुरी गाउँपालिका वडा नं. ४ स्थित सगरमाथा बोर्डिङ स्कुलको प्रांगणबाट रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।
उनीहरुले भारतीय सीमाबाट नेपालतर्फ घरायसी सामान भित्राउन सहज गराइदिने भनी सेवाग्राहीसँग घुस लिने गरेको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार प्रहरी नायब निरीक्षक सिंहले घुस रकम लिन घुमुवा प्रहरी जवान यादवलाई पठाएको भन्ने सूचनाको आधारमा अख्तियारको टोली परिचालित भएको थियो ।उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २५ गते बुधवार
प्रतिक्रिया