
दार्मा, २४ मङ्सिर
दार्मा गाउँपालिकाको वडा नं. ४ मा पहिलो पटक बिजुली बत्ती पुगेको छ । वडा कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले स्वीच अन गरी बिजुली बत्तीको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका अध्यक्ष केसीले जनतासँग प्रत्यक्ष जोडिएका सवालहरुमा स्थानीय सरकारले प्राथमिकताका साथ काम अघि बढाएको बताए ।
आफूहरु नेतृत्वमा आउँदा १९ किलोमिटर टाढा रहेको बिजुली अहिले घरआँगनमा ल्याउन सफल भएको बताउँदै गाउँपालिकालाई अँध्यारो मुक्त बनाउने अभियानमा लागेको बताए । दार्मा सरकारले अब शाखा लाइन विस्तारलाई तीब्र गतिमा लिने उनकाे भनाइ थियो । गाउँपालिकालाई दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने गरी योजना अघि बढेको भन्दै उनले योजनाबद्धरुमा सडक, पुल, खानेपानी जस्ता जनजीविकासँग जोडिएका सवालहरु आफ्नो प्राथमिकतामा रहेको धारणा उनले राखे ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओलीले सरकारले एउटा पक्ष मात्र नभएर जनताको आयस्तर बृद्धि, उद्योग, कलकारखाना लगायतका समग्र क्षेत्रको विकासको योजनासाथ अगाडि बढेको धारणा राखिन । विकासलाई दिगो र प्रभावकारी बनाउन जनतामा अपनत्व हुनुपर्ने उनकाे भनाइ थियो । विकास मात्र ठुलो कुरा नभएको भन्दै उनले त्यसको सदुपयोग गर्न जनतालाई आग्रह गिरन । वडा अध्यक्ष चन्द्रबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा दार्मा गाउँपालिका अध्यक्ष असवीर बुढाथोकी लगायतले मन्तव्य व्यक्त गरेका थिए । वडा कार्यालयका हेमन्त चन्दको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा सदस्य जुना मल्ल चन्दले गरेका थिए ।