टेलिभिजनकर्मी शशी नेपालको लोक दोहोरी गित सार्वजनिक

काठमाडौ२३ मंसीर । टेलिभिजनकर्मी शशी नेपालको लोक दोहोरी गित सार्वजनिक भएको छ । प्राइम टाइम्स टेलिभिजनमा समाचार बाचिका समेत रहेकी नेपालले कहिले आउँछ पालो सरकार भन्ने एल्वम बजारमा ल्याएकी हुन् । गितकार अविरल विसी र संगीतकार खेम सेञ्चुरीसँगको सहकार्यमा राष्ट्रियता झल्किने गित उनले बजारमा ल्याएकी छिन् ।उक्त गितमा पछिल्लो समय देश र जनतालाई परेको समस्याको बारेमा विषय बस्तु समेटिएको छ । अन्य कलाकारहरुले समेत आवाज दिएको गितमा नेपालको सिमा मिचिएको , एनसेललाई कर छुट दिइएको , निर्मला पन्त प्रकरण, वाइडबडी काण्ड, वालुवाटारको जग्गा काण्ड, नेताहरुको गैरजिम्मेवारीपन र विलासी जीवन माथि व्यङग्य गरिएको छ ।

भ्रष्टाचार, कुशासन र दण्डहिनताको अन्त्यगर्नका लागि प्रेरणा मिलोस् भन्ने उद्देश्यले आफुले यस्तो गित बजारमा ल्याएको उनले बताएकी छिन् । उक्त गीत व्यवसायीक प्रयोजनका लागि भन्दा पनि सामाजिक सन्देश र चेतना फैलाउनका लागि तयार पारिएको नेपालले बताइन् । विसीले लेखेका शब्द यथार्थपरक र देशका लागि थोरै भए पनि योगदान दिने खालका भएकाले गीतमा लगानी गर्न आफु तयार भएको नेपालको भनाई छ ।यसअघि राष्ट्रिय भावना समावेश गरिएको गीतमा मोडलिङ गरिसकेकी नेपालले यसपटक आफुसहित अन्य कलाकारको स्वर समावेश गरेर दबाब मुलक गीत ल्याएकी हुन् । यसअघि उनले ‘देशको माया’ बोलेको गितमा मोडलिङ गरेकी थिइन् । साथै उक्त गितमा सम्झना भण्डारी, मेक्सम खाती, नरेश खाती, भागिरथ चलाउने, विक्रम परियार, विजय सुनाम र जानकी तारामी मगरले स्वर दिएका छन् भने अन्य कलाकारहरु सिमा सारु र सरु आले मगरले साथ दिएका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर २३ गते सोमवार
प्रतिक्रिया