सर्वोच्चको न्यायाधीश बन्न न्यायपरिषद् सदस्यबाट वैदिकको राजीनामा

काठमाडौ, १९ मंसीर ।
न्यायपरिषदका सदस्य पदम प्रसाद वैदिकले राष्ट्रपति समक्ष राजीनामा दिएका छन्। एक वर्ष कार्यकाल बाँकी रहँदै वैदिकले बुधवार राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका थिए । उनलाई न्याय परिषद्मा सरकारको तर्फबाट तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा २०७३ कात्तिक १९ गते न्यायपरिषद सदस्य नियुक्त गरिएको थियो । सर्वोच्च अदालतको न्यायाधीश बन्नका लागि वैदिकले परिषदबाट राजीनामा दिएको जनाईएको छ । सर्वोच्च अदालतमा एउटा न्यायाधीश पद रिक्त छ । न्यायाधीश केदार चालिसे यही मंसिर चार गते अवकाश भएपछि उहाँको ठाउँमा वैदिकलाई न्यायाधीश बनाउने गरी राजीनामा गराइएको बताइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा बस्ने अबको परिषद बैठकले वैदिकको नाममा सिफारिस गर्ने सम्भावना छ । न्यायक्षेत्रका कतिपय विज्ञले न्यायपरिषद सदस्य नै न्यायाधीश भएर जाने परम्पराले न्यायपरिषद प्रभावकारी हुन नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर १९ गते बिहिवार
प्रतिक्रिया