तुलसीपुर, १८ मंसिर
ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी सहायक निरीक्षक नबिनकुमार झालाई अख्तियारको टोलीले एक हजार घुस सहित पक्राउ गरेको छ । ट्रिपरको सम्पूर्ण कागजात हुँदा हुँदै पनि बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको र नदिएमा ट्रिपर चल्न नदिने भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट गएको टोलीले प्रहरी सहायक निरीक्षक नबिनकुमार झालाई सेवाग्राहीबाट एक हजार लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
त्यसैगरी भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतमलाई पनि घुस रकमसहित पक्राउ गरेको छ । नायब सुब्वा नारायणराज मिश्रले सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट ४० हजार रकम लिदैगर्दा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।