
ओपेन्द्र बस्नेत
तुलसीपुर, १८ मंसिर /कार्यालय प्रमुखले तोकेको काम नगर्ने भन्दै नेपाल टेलिकमका केहि कर्मचारी आन्दोलनमा उत्रीयपछि सेवा ग्राही मर्कामा परेका छन् । विगत १०औ बर्षदेखि एउटै शाखामा काम गर्दै आएका नेपाल टेलिकम तुलसीपुरका केहि कर्मचारीले आफुहरुसंग कुनै समन्वय नगरेर जिम्मेवारी बाँडफाड गरेको भन्दै कामकाज ठप्प पारेपछि सेवा ग्राही मर्कामा परेका हुन् । टेलिकमका कर्मचारी आन्दोलनमा उत्रीयपछि लेखा, बजेट, स्टोर र टेलिफोन मर्मतको सबैकाम सोमबारदेखि ठप्प छ । टेलिफोन मार्फत मर्मत र कार्यालयमै आएर विभिन्न सेवा लिने सेवाग्राहीको संख्या सर्यौ रहने गरेको कार्यालयले जनाएको छ ।
सोमबार कार्यालय प्रमुख चन्दन कुमार झाँको कार्यकक्षमा ताला लगाएका उनिहरुले मंगलबार लेखा, स्टोर र मर्मतको कुनै पनि काम गरेनन् । श्रोतका अनुसार लेखामा विगत २७÷२८ बर्षदेखि काम गर्दै आएका साहयक लेखा अधिकृत दिलबहादुर केसी, करिब ११ बर्षदेखि लेखामा काम गर्दै आएका बरिष्ठ साहयक गुरुप्रसाद तिवारी, १७ बर्षदेखि स्टोरमा काम गर्दै आएका बरिष्ठ साहयक लिला सुनार र टेलिकम टेक्नीसियन शिवराज भण्डारी काम गर्न छोडेर आन्दोलनमा छन् ।
कुनै समन्वय तथा छलफल नगरेर कामको जिम्मेवारी र आफुहरुले काम गर्ने शाखामा कर्मचारी थपेकाले त्यसको विरोध स्वरुप आन्दोलन गरेको बरिष्ठ साहयक गुरुप्रसाद तिवारीले बताए । ‘विभेदकारी रुपमा कुनै परामर्श नगरेर कार्यलय प्रमुखले एकलौटी जिम्मेवारी तोक्ने काम भयो,’ बरिष्ठ साहयक तिवारीले भने– ‘ हामीले गर्ने कामको जानकारी हामीले थाहा पाउनु पर्ने होकी होईन ?।’ कार्यलय प्रमुखले गरेको निर्णय अहिले पनि गोप्यमा रोखेको तिवारीको गुनासो छ । कार्यालयमा अन्यत्रबाट सरुवा भएर आएका तीन जना कर्मचारीलाई पनि आन्दोलनरत कर्मचारीको शाखामा समन्वय विना जिम्मेवारी तोकेपछि उनिहरु आक्रोशित भएका हुन् ।
सेवाग्राहीलाई छिटोछरितो र चुस्तदुरुस्त सेवा प्रदान गर्नका लागि विभिन्न समयमा सरुवा भएर आएका कर्मचारीलाई कामको जिम्मेवारी दिदा यस्तो अवस्था आएको नेपाल टेलिकम तुलसीपुरका प्रमुख चन्दन कुमार झाले बताए । सरुवा भएर आएका तीन जना कर्मचारी महिनौ दिनदेखि कामको जिम्मेवारी नपाउदा फुर्सदिला थिए । ‘यो हाम्रो आन्तरीक कुरा हो,’ कार्यालय प्रमुख झाले भने – ‘ आउनुस छलफल गरौ भनेको छु । मानिरहुन भएको छैन । घरको कुरा हो हामी घरभित्रै मिलाउछौ ।’ कर्मचारी आज पनि काम छोडेर स्टोर कक्षमा बसीरहेका छन् ।