
सुर्खेत , १६ मंसीर । भेरी बबई डाइभर्सन आयोजनाको बाँध र पावर हाउसको शिलान्यास गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिएको यस आयोजनाको दोस्रो चरणअन्तर्गतको बाँध र पावर हाउसको शिलान्यास गरिएको हो । सुर्खेतको भेरीगंगा नगरपालिका ११ स्थित चिप्लेमा बाँध र बबईमा पावर हाउस निर्माण गर्न लागिएको छ । सोमबार एक कार्यक्रमका बीच संघीय सरकारका ऊर्जा मन्त्री वर्षमान पुनले बाँध र पावर हाउसको शिलान्यास गरेका छन्।बाँध र पावर हाउसको शिलान्यास गर्दै ऊर्जा मन्त्री पुनले राष्ट्रिय गौरवको पहिचान दिनेगरी समयमै निर्माण सम्पन्न गर्न आग्रह गरे । मन्त्री पुनले बिनाविवाद आयोजना सम्पन्न गर्नमा सबै पक्षको सहयोग आवश्यक रहेको भन्दै कामलाई सहज गराउन स्थानीय र जनप्रतिनिधलाई अनुरोध गरे ।
उनले आयोजनाको शेयर बाँडफाँड गर्दा प्रदेश सरकार, स्थानीय र नागरिकहरुलाई पनि सहभागी गराइने बताउँदै अर्को महिनादेखि वितरण गरिने जानकारी दिए । साथै उनले यस आयोजनाबाट हुने आम्दानीको एउटा हिस्सा कर्णालीको विकास र समृद्धिमा लगाइने पनि बताए ।उनले बिजुलीबाट ५० प्रतिशत रोयल्टी कर्णालीलाई दिन सकिने पनि बताए ।भेरी बबई डाइभर्सन आयोजना सम्पन्न भएपछि ४८ मेगावट विद्युत उत्पादन गरिनुका साथै बर्दिया र बाँकेको ५१ हजार हेक्टर जमिनलाई सिंचाइ उपलब्ध गराउने आयोजनाले लक्ष्य लिएको छ ।
यसका लागि चिप्लेमा १३ मिटर अग्लो बाँध बनाइने र बबईमा पावर हाउस निर्माण गरिनेछ । बाँध र पावरहाउस निर्माणका लागि ग्वाङडङ र रमन कन्स्ट्रक्सनले ६ अर्ब १६ करोड ५२ लाखमा सम्पन्न गर्ने गरी जिम्मा पाएको छ ।आयोजनाको पहिलो चरणको सुरुङ खन्ने काम यसअघि नै सम्पन्न भइसकेको छ । चिप्लेदेखि बबईसम्म १२ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएपछि बाँध र पावर हाउस निर्माण कार्य सुरु गरिएको हो ।आयोजनाका प्रमुख सञ्जिव बरालले आर्थिक वर्ष २०७९र८० मा आयोजनाको सबै काम सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिएको जानकारी दिएका छन् ।