दाङ, १६ मंसीर । आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी सोमवार बिहान पक्राउ परेका छन् । उपचाररत अस्पतालको आईसीयूबाटै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, सुनसरीको टोलीले बिहान ४ बजे विराट नर्सिङहोमबाटै उनलाई पक्राउ गरेको डीएसपी विनोद शर्माले जानकारी दिएका छन् । उनका अनुसार अनुयायीले अवरोध गर्नसक्ने आँकलनका साथ बिहानै आईसीयूबाटै नियन्त्रणमा लिइएको हो ।
सिद्धबाबालाई प्रहरीले आईतवार नै पक्राउ गर्न खोजे पनि विराट नर्सिङ होमले हृदयघात भएको भन्दै उनलाई आईसीयूमा राखेपछि सुनसरीबाट गएको प्रहरी टोली फर्केको थियो । पक्राउ परेका गिरीलाई एम्बुलेन्समा हालेर जिल्ला प्रहरी कार्यालय, सुनसरी पु¥याइएको प्रहरीले जनाएको छ । गएको कात्तिक ४ मा गिरीले बलात्कार गरेको भन्दै एक महिलाको उजुरीपछि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो ।