उपचुनाव : ५० स्थानको नतिजा सार्वजनिक ,नेकपा २९ , कांग्रेस ११, समाजवादी ४, राजपा ३ स्थानमा विजयी

दाङ, १६ मंसीर ।
दाङ सहित ३७ जिल्लाका विभिन्न ५२ पदका लागी गत शनिवार भएको उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर र धरानकै वडा नम्बर ७ को वडाध्यक्ष बाहेक अन्य ५० स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।उपनिर्वाचनको एक मात्र प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर २ सहित २९ स्थानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार बिजयी भएका छन् । प्रदेशसभाका ३ सिटमध्ये दाङ क्षेत्र नम्बर ३ (ख)मा नेकपा र बागलुङ क्षेत्र नम्बर २ (ख)मा नेकपा समर्थित राजमो निर्वाचित भएका छन् भने भक्तपुर क्षेत्र नम्बर १ (क) कांग्रेस विजयी भएको छ ।
नेकपाले उपनिर्वाचन भएका सबै गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष जितेको छ । उपनिर्वाचन भएका ३७ जिल्लाका ४३ वडामध्ये धरान उपमहानगरपालिकाको एक वडा बाहेक २३ वडाअध्यक्षमा नेकपा विजयी भएको छ । यस्तै बागलुङको प्रदेशसभा सदस्यमा नेकपा समर्थित राष्ट्रिय जनमोर्चा विजयी भएको छ ।
मतगणना सम्पन्न भएका ५० स्थान मध्ये नेकपा र नेकपा समर्थित उम्मेदवार सहित ३१ स्थानमा वामपन्थी विजयी भएको छ ।यसअघि कांग्रेसले जितेको फाल्गुनन्द गाउँपालिका अध्यक्ष, हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष र यसअघि राजपाले जितेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष उपचुनावबाट नेकपाले जितेको छ । उपचुनावमा कांग्रेसले दुई गाउँपालिका गुमाए पनि भक्तपुरको प्रदेशसभा सदस्यमा विजयी भएको छ । उपचुनावको मतगणना सकिएको ५० मध्ये कांग्रेसले एक प्रदेशसभा सदस्यसहित ११ वडाअध्यक्ष विजयी प्राप्त गदै १२ स्थान आफ्नो पक्षमा पार्न सफल भएको छ ।
त्यस्तै समाजवादी पार्टीले चार वडाध्यक्ष जितेको छ भने राष्ट्रिय जनता पार्टी नेपालले ३ वडाध्यक्ष जितेको छ । उपचुनाव भएको एकमात्र प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर २ मा नेकपाकी विद्या भट्टराई ८ हजार ४ सय मतको फराकिलो अन्तरसहित विजयी भएकी छन् ।
उपचुनाव भएका तीन गाउँपालिका अध्यक्षमध्ये पाँचथरको फाल्गुन्द गाउँपालिकामा नेकपाका वीरवहादुर कुरुम्बाङ विजयी भएका छन् । यसअघि त्यहाँ नेपाली कांग्रेसका अमर नेम्वाङ विजयी भएका थिए ।

त्यस्तै संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा नेकपाकै तेजबहादुर पोखरेल विजयी भएका छन् । यसअघि राजपाले जितेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा पनि नेकपा विजयी भएको छ ।हुम्लाका खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपाकी दीपा शाही निर्वाचित भएकी छन् । यसअघि सो गाउँपालिकामा नेपाली कांग्रेसले जितेको थियो । कांग्रेसले दुई गाउँपालिका र राजपाले एक गाउँपालिका गुमाउँदा नेकपाले तीन गाउँपालिका थप गरेको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर १६ गते सोमवार
प्रतिक्रिया