दाङ, १४ मंसीर । सल्यान कुमाख गाउँपालिका वडा नम्वर ५ मा मतदान भईरहेको छ । वडा अध्यक्ष पदका लागी भएको मतदानमा दिउँसो तिन बजे सम्म एक हजार असी मत खसेको छ । वडामा एक हजार आठ सय उन्चालिस मतदाता रहेका छन् । एक मतदान स्थल र दुई वटा मतदान केन्द्रबाट मतदान भईरहेको जिल्ला निर्वाचन अधिकारी हरि बहादुर बुढाथोकीले जानकारी दिएका छन् । उनका अनुसार अहिले मतदाताको भिड धेरै न्युन भईसकेको छ । अब झन्डै एक सय मत खस्ने अनुमान गरिएको छ । धेरैजसो मत खसेकाले अब थोरै मत खस्न सक्ने आँकलन गरिएको उनले बताएका छन् । वडाअध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समिती सल्यानको उपप्रमुख भएपछि वडाअध्यक्ष पदरिक्त रहेको छ । उक्त पदका लागी तिन राजनितिक दल चुनावी मैदानमा उत्रिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट धर्मे बुढाथोकी, नेपाली काँग्रेसको तर्फबाट खड्ग बहादुर बोहरा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल शाहले उम्मेदवारी दिएका थिए ।
रोल्पामा दुई सय मत खस्यो
रोल्पा जिल्लाको थवाङ गाउँपालिका वडा नम्वर १ मा पनि मतदान भईरहेको छ । वडा अध्यक्ष पद रिक्त भएपछि त्यहा पनि मतदान भएको हो । उक्त वडामा एक हजार तिन सय मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार दिउँसो साढे दुई बजेसम्म दुई सय चार मत खसेको छ । वडा अध्यक्ष फर्क बहादुर बुढाको निधन भएपछि रिक्त रहेको पदका लागी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काग्रेस विच प्रतिस्प्रर्धा हुदैछ ।