काठमाडौ, १३ मंसीर ।दाङ सहि ३७ जिल्लामा रिक्त रहेका ५२ पदका लागी भोली (शनिवार) मतदान हुदैछ । भोली हुने उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।यता दाङको दुई स्थानमा प्रदेश सभा सदस्य र वडा अध्यक्ष पदका लागी उपनिर्वाचन हुन लागेको हो । दाङ निर्वाचन क्षेत्र नम्वर ३ ख मा प्रदेश सभा सदस्य र घोराही उपमहानगरपालिका वडा नम्वर १६ मा वडा अध्यक्ष पदका लागी उपनिर्वाचन हुन लागेको हो ।दुई स्थानमा हुने निर्वाचन क्षेत्रमा ३४ मतदानस्थल कायम गरिएको छ ।
प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नं. ३ ‘ख’ मा ३२ मतदानस्थल र ७७ मतदान केन्द्र तोकिएको छ भने घोराही उपमहानगरपालिका–१६ मा दुई ओटा मतदानस्थल र पाँच ओटा मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालय घोराही दाङले जनाएको छ ।
मतदान हुने ८२ वटै मतदान केन्द्र कर्मचारी खटाउने, मतदाता परिचय पत्र वितरण गर्ने जस्ता लगाएतका तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन् । कुल ७३ हजार १ सय ७२ मतदाता मध्ये ३५ हजार आठ सय अरसठ्ठी पुरुष रहेका छन भने ३७ हजार ३ सय ५ जना महिला रहेका छन् । यस्तै एक जना तेस्री लिङगी मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । जसमा प्रदेस सभा सदस्य निर्वाचनमा ६८ हजार सात सय १९ र घोराही १६ मा चार हजार चार सय ५३ मतदाता रहेका छन् ।
जिल्ला प्रहरी प्रमुख जनक भट्टराईका अनुसार सुरक्षा संवेदनशीलता भएपनि स्वच्छ, भयरहित र शान्तिपूर्ण रूपमा उपनिर्वाचन सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाइएको छ ।उपनिर्वाचनका लागी ३४ मतदान स्थल मध्ये २६ ओटा मतदानस्थल संवेदनशील र ६ ओटा अति संवेदनशील रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै दुई ओटा मतदानस्थल भने सामान्य रहेका छन् ।प्रदेश सभा सदस्य पदका लागी १२ राजनितिक दल र दुई जना स्वतन्त्र गरी १४ जना उम्मेदवार रहेका छन् भने घोराही १६ मा पाँच राजनितिक दल र दुई जना स्वतन्त्र गरी सात जना चुनावी मैदानमा उत्रिएका छन् ।
सल्यानमा कुमाख ५ मा निर्वाचन हुदै
सल्यान कुमाख गाउँपालिका वडा नम्वर ५ मा पनि आज हुने उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जानकारी दिएको छ । वडा अध्यक्ष पदका लागी हुने उपनिर्वाचनमा मतदाताको संख्या एक हजार आठ सय उन्चालिस रहेको जिल्ला निर्वाचन अधिकारी हरि बहादुर बुढाथोकीले जनाकारी दिएका छन् । आज विहान सात बजेदेखी मतदान प्रक्रिया सुरु हुने निर्वाचन अधिकारी बुढाथोकीले जानकारी दिएका छन् ।मतदान केन्द्र क मा ९ सय ५२ र ख मा ८ सय ८७ जना मतदाताको संख्या रहेको छ ।उक्त वडामा तिन जना चुनावी मैदानमा उत्रिएका छन् ।यस्तै प्रदेश ५ मा प्रदेश सभा सदस्य सहित ९ वटा पदका लागी ४१ जनाले उपनिर्वाचनमा भाग लिदैछन् । प्रदेश अन्र्तगत दाङ सहित रोल्पा, बाँके, प्युठान, गुल्मी र अर्घाखाँची गरी प्रदेशका छ जिल्लामा रिक्त रहेका पदमा उपनिर्वाचन हुदैछ ।
उपनिर्वाचनमा निर्धक्क भएर भाग लिन मतदाताहरूलाई आग्रह
निर्वाचन आयोगले भोलि (शनिवार) हुने उपनिर्वाचनमा निर्धक्क भएर भाग लिन मतदाताहरूलाई आग्रह गरेको छ । आयोगले शुक्रवार भिडिओमार्फत सन्देश सार्वजनिक गर्दै प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका सदस्यको विभिन्न पदको उपनिर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको हो । उपनिर्वाचन हुने क्षेत्रका मतदाताहरूले सरकारी कार्यालयबाट जारी भएका आफ्नो परिचय झल्कने फोटोसहितको कुनै पनि परिचयपत्र देखाएर मतदान गर्न पाउने आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले गृह मन्त्रालयको संयोजकत्वमा सबै सुरक्षा निकायको एकीकृत सुरक्षा योजना तर्जुमा गरिएकाले ढुक्क भएर निर्वाचनमा सहभागी हुने वातावरण बनेको बताउनुभयो ।
उपनिर्वाचनको पर्यवेक्षणका लागि राष्ट्रिय पर्यवेक्षण संस्थाहरूले अनुमति पाइसकेको र नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूलाई समेत अनुमति प्रदान गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार ३७ जिल्लामा २ सय ४७ मतदान स्थल तथा ५ सय ३७ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी लगायत सुरक्षकर्मीहरू आवश्यक मतदान सामग्रीहरूसहित गत बुधबार साँझ नै पुगिसकेका छन् । उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि १ जना, प्रदेश सभा सदस्यतर्फ ३ जना, उपमहानगरपालिका प्रमुख १ जना, गाउँपालिका अध्यक्षका लागि ३ जना, गाउँपालिका उपाध्यक्षका लागि १ जना र स्थानीय तह सदस्यतर्फ ४३ गरी कुल ५२ रिक्त पदमा निर्वाचन हुँदैछ । प्रतिनिधि सभा सदस्यतर्फ ११, प्रदेश सभा सदस्यतर्फ १५ र स्थानीय तहका सदस्यका लागि २० वटा राजनीतिक दलहरू सहभागी भएका छन् ।