उपचुनाव : मापसे प्रतिबन्ध, बाहिरका मान्छेलाई प्रवेश निषेध

चितवन,१२ मंसीर । शनिबार चितवनका दुई स्थानीय तहका तीनवटा वडामा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । भरतपुर महानगरपालिका वडा नं १६ र पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ४ र ५ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो । यसका लागि सबै तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा कुल १५ पद रिक्त रहे पनि तीन वडाध्यक्षका लागि मात्रै निर्वाचन गर्न लागिएको हो । १४ पद मध्ये जिल्ला समन्वय समितिमा निर्वाचन ९ जनाको पद रिक्त छ भने दलित ३ पदमा उम्मेदवारी नै परेको छैन ।

मतदान अधिकृत र सहायक मतदान अधिकृतहरु निर्वाचनका हरेक केन्द्रमा पुगीसकेका छन् । जिल्लाबाट ७५ जना कर्मचारी छनोट गरी तालिम दिएर पठाइएको र केन्द्रमा आवश्यक थप ६० जना स्वयंसेवक नियुक्त गरिएको कार्यालयले बताएको छ ।मतदान केन्द्रमा निर्वाचनसम्बन्धी जानकारीको सूचना टाँस गरिएको छ । जिल्लाको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत हेमन्त रावल नियुक्त भएका छन् । उनले भरतपुर महानगरपालिका १६ को निर्वाचन समेत हेर्नेछन् । खैरहनीका लागि निर्वाचन अधिकृत विद्याराज पौडेललाई नियुक्त गरिएको छ ।

निर्वाचनको दिन वडामा प्रवेश गर्ने मुख्य तथा सहायक सडकहरूमा सुरक्षाकर्मी राखेर वडावासी भन्दा बाहेकलाई प्रवेश गर्न नदिइने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यस्तैउपनिर्वाचनलाई मध्यनजर गर्दै चितवनका तीन वडामा मदिरा उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै निर्वाचन हुने तीन वडामा मदिराको व्यापारमा रोक लगाएको जनाएको छ ।तीनवटै वडा तथा वडा सीमानाको ५०० मिटर वरिपरीसम्म मदिराजन्य पदार्थको उत्पादन, बिक्री वितरण र सेवन गर्न निषेध गरिएको छ । उपनिर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निर्वाचन हुने वडाहरुमा मंसिर १३ गते बेलुका ६ बजेबाट १४ गते बेलुका ८ बजेसम्म पाँच जनाभन्दा बढी हिँडडुुल गर्न पनि रोक लगाएको छ ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर १२ गते बिहिवार
प्रतिक्रिया