औषधी सेवनका कारण विरामीको मुत्यु पछि क्लिनिक बन्द गर्न निर्देशन

दाङ, १० मंसीर । बाँकेको नरैनापुर गाउँपालिकामा ‘झोले चिकित्सक’ले उपचार गर्ने क्रममा दुई जनाको मृत्यु भएपछि नरैनापुर क्षेत्रमा रहेका अवैध क्लिनिक बन्द गर्न निर्देशन दिइएको छ ।उपचारका क्रममा नरैनापुर–५ मटेहियाका ३० वर्षीय गयाराज धोबी र राप्तीसोनारी गाउँपालिका–७ गेदवाका २८ वर्षीय मालिकराम धोबीको मृत्यु भएपछि अवैध रुपमा सञ्चालनमा रहेका क्लिनिक बन्द गर्न निर्देशन दिइएको हो।
नरैनापुर गाउँपालिकामा भारतका श्रावस्ती जिल्लाको मनकौरा गाउँमा बस्दै आएका ‘झोले चिकित्सक’ राजेश सिंहले उपचार गर्दा गयाराज र मालिकरामको मृत्यु भएको प्रहरीले जनाएको छ।स्थानीयको घरमा मुण्डन कार्यक्रममा सहभागी भएका गयाराज र मालिकरामले भोज खाएपछि बान्ता भएको र उपचारका लागि आएका राजेश सिंहले बिरामीको रोग पहिचान नगरी अनुमानका आधारमा औषधि सेवन गर्न लगाएपछि मृत्यु भएको प्रहरीको अनुमान छ ।
करिब २५ वर्षदेखि गाउँमा अवैधरुपमा उपचार गरेर क्लिनिक सञ्चालन गर्दै आएका राजेश सिंहले उपचारका क्रममा यसअघि पनि धेरैले ज्यान गुमाउनुपरेको स्थानीय मयाराम धोबीले बताएका छन । उपचारका क्रममा गयाराज र मालिकरामको मृत्यु भएपछि प्रदेशसभा सदस्य कृष्ण केसी ‘नमूना’ मंगलवार नरैनापुर पुगेर घटनास्थलको अवलोकन र पीडितसँग भेटघाट गरेका छन् । नरैनापुर क्षेत्रमा रहेका अन्य अवैध क्लिनिकको अवलोकनपछि त्यस्ता क्लिनिक शिल गर्न प्रहरीलाई निर्देशन दिइएको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर १० गते मङ्गलवार
प्रतिक्रिया