काठमाडौ, ५ मंसीर ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारी सहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ । बुधवार बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँड गरेको हो । जसअनुसार संसद रहँदासम्म ओली नै प्रधानमन्त्री हुने निर्णय भएको छ । प्रतिनिधिसभाको यो कार्यकालमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायीत्वको सन्देश दिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
अध्यक्ष ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने, अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने र बैठक संयुक्त अध्यक्षतामा सञ्चालित हुने प्रवक्ता श्रेष्ठले बताएका थिए । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्का सदस्यहरु प्रिवर्तन गर्ने तयारी गर्नुभएको भएपनि अझैसम्म हट्ने र नयाँ बन्ने मन्त्रीहरुको टुंगो लागेको छैन । नेकपाको सचिवालय बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरे पनि मन्त्री हेरफेरबारे टुंगो लगाएको छैन ।
यसबारे निर्णय गर्ने जिम्मा दुई अध्यक्षलाई दिइएको छ । कृषिमन्त्री चत्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरी हट्ने संभावना छ । यस्तै महिला बालबालिकामन्त्री थममाया थापा तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र श्रममन्त्री गोकर्ण विष्टमध्ये एक हट्नसक्ने संभावना रहेको बताइएको छ, यद्यपी यसको अन्तिम टुङ्गो लागेको छैन ।
ओली पाँच वर्षलाई प्रधानमन्त्री, कार्यकारी अध्यक्ष पचण्डलाई
प्रकाशित मिति : २०७६ मङ्सिर ५ गते बिहिवार
प्रतिक्रिया