निर्वाचन क्षेत्रमा आजदेखी मतदाता शिक्षा कार्यक्रम शुरु, ५२ जना जनशक्ति परिचालन

लक्ष्मण विश्वकर्मा, तुलसीपुर, ५ मंसीर । दाङमा आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागी विहिवार देखी मतदाता शिक्षा कार्यक्रम आज (विहिवार) देखी सुरु हुने भएको छ । जिल्लाका दुई स्थानमा हुन लागेको उपनिर्वाचनमा मतदाताहरुलाई मतदान गर्ने प्रक्रिया बारे शिक्षा दिनका लागी ५२ जना जनशक्ति परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय घोराही दाङले जानकारी दिएको छ ।
दाङ निर्वाचन क्षेत्र नम्वर ३ ख मा प्रदेश सभा सदस्य र घोराही उपमहानगरपालिका वडा नम्वर १६ मा वडा अध्यक्ष पदका लागी उपनिर्वाचन हुन लागेको हो ।प्रदेश सभा सदस्य पदका लागी हुने उपनिर्वाचन क्षेत्रमा पचास जना र घोराही १६ मा दुई जना गरी जम्मा ५२ जना मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिएको कार्यालयले बताएको छ ।
कार्यालयका अनुसार ती जनशक्तिलाई मतदाता शिक्षा सम्वन्धीको तालिम प्रदान गरी परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी बुद्धि बहादुर खत्रीले जानकारी दिएका छन् । उनका अनुसार निर्वाचन आयोगबाट नमुनामत पत्र प्राप्त भईसकेकाले सम्वन्धित क्षेत्रमा नमुना मत पत्र पठाईएको छ । ती मतदाता शिक्षा कार्यकर्ताहरुलाई नमुना पत्र, निर्वाचन सम्वन्धी पोस्टर र पर्चा जस्ता सामग्री दिएर सम्वन्धित क्षेत्रमा खटाईएको उनले जानकारी दिएका छन् । दुई स्थानमा हुने उपनिर्वाचनका लागी ७३ हजार १ सय ७२ मतदातालाई मतदानमा सहभागी बनाउन उनीहरुले सचेतना फैलाउने छन् ।
तर मतदाता शिक्षा कार्यक्रममा यस पटक स्वस्तिक छाप नभएकाले प्रयोग नगरिने कार्यालयले बताएको छ ।निर्वाचन आयोगले स्वस्तिक छाप उपलब्ध नगराएकोले अहिले मतदाताहरुलाई स्वस्तिक छाप बिना नै नमुना मतपत्रमा सिकाईने भएको छ ।नमुना मतपत्रमा स्वस्तिक छाप हुने भएकाले चित्र मार्फत स्वस्तिक छाप लगाउन सिकाईने निर्वाचन अधिकारी खत्रीले जानकारी दिएका छन् । मतदाता शिक्षा कार्यक्रम आगामी मंसीर ११ गते सम्म सन्चालन हुनेछ ।
उपनिर्वाचनमा ७३ हजार बढि मतदाता सहभागि हुदै
आगामी मंसीर १४ गते हुने उपनिर्वाचनमा दाङको दुई छुट्टाछुट्टै निर्वाचनमा ७३ हजार १ सय ७२ जना मतदाता सहभागी हुदैछन् । जिल्ला निर्वाचन कार्यालय घोराहीका अनुसार घोराही उपमहानगरपालिका वडा नम्वर १६ मा ४ हजार ४ सय ५३ जना मतदाता रहेका छन् ।जसमा पुरुषतर्फ २ हजार ८८ र महिलातर्फ २ हजार ३ सय ६५ रहेका छन् । उक्त वडामा २०७४ सालको स्थानिय तहको निर्वाचनमा ४ हजार ३ सय ५४ मतदाता रहेका थिए ।
जसमा पुरुषतर्फ २ हजार ७१ र महिलातर्फ २ हजार २ सय ८३ रहेका थिए । यस्तै दाङ निर्वाचन क्षेत्र नम्वर ३ ख मा ६८ हजार ७ सय १६ मतदाता रहेको कार्यालयले बताएको छ । जसमा पुरुषतर्फ ३३ हजार ७ सय ७८ रहेका छन् भने महिलातर्फ ३४ हजार ९ सय ४० रहेका छन् । यस्तै एक जना तेस्री लिङगी भएको कार्यालयले बताएको छ । कार्यालयका अनुसार २०७४ सालको प्रदेश सभा निर्वाचनमा उक्त निर्वाचन क्षेत्रमा ६७ हजार ६ सय ३७ मतदाता रहेका थिए । जसमा पुरुषतर्फ ३३ हजार ७ सय १४ र महिलातर्फ ३३ हजार ९ सय २३ रहेका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर ५ गते बिहिवार
प्रतिक्रिया