श्रीमतीले परपुरुष संग अनैतिक सम्वन्ध राखेको भन्दै हत्या गर्ने थापालाई जन्मकैद

दाङ, ३ मंसीर । दाङका एक युवालाई ओखलढुंगा जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । जिल्लाको मोलुङ गाउँपालिका ३ का २७ वर्षीय सन्तोष कार्कीको घरमै पुगेर हत्या गरेको अभियोगमा दाङको भालुवाङका ३७ वर्षीय संजितकुमार थापालाई जिल्ला अदालतले सोमबार साँझ जन्मकैद सजाय फैसला सुनाएको हो ।जिल्ला न्यायाधीश दलबहादुर केशीको इजलाशले कर्तव्य ज्यान मुद्दामा कसुर ठहर गर्दै २५ वर्ष कैद सजायको फैसला गरेको अदालतका श्रेस्तेदार नेत्रबन्धु पौड्यालले बताए ।

थापाले आफ्नी पत्नि सित अनैतिक सम्बध राखेको आरोपमा कार्कीको २०७५ भदौ ५ गते बेलुका मोलुङ गाउँपालिका ३ स्थित मृतकको घरमा पुगेर खुकुरी प्रहार गरि हत्या गरेका थिए । कार्कीको खुकुरी प्रहारबाट शरिरभरि चोट लागेको र अत्याधिक रगत बगेको अवस्थामा घरभित्रै शव फेला परेको थियो । हत्या गरेर भागेका आरोपितलाई प्रहरीले ०७५ भदौ १२ गते उनकै घर छेउ दाङको भालुवाङबाट पक्राउ गरेको थियो । भदौ १३ गते ओखलढुंगा प्रहरीले बुझेर १४ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।प्रहरीले क्रुर अमानवीय तवरले यातना दिएर हत्या गरेको कसुरमा आजीवन काराबासको सजाय माग दावी गरे पनि क्रुर तरिकाले यातना दिएर हत्या नगरेको, आरोपितले अभियोग स्वीकारको देखिएकाले जन्म कैद अर्थात २५ वर्ष कर्तव्य ज्यानमा कसुर ठहर भइ सजाय तोकिएको अदालतले जनाएको छ । अनुसन्धानका क्रममा थापाले अभियोग स्वीकार गरेका थिए भने आवेशमा हत्या गरेको बयान दिएका थिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर ३ गते मङ्गलवार
प्रतिक्रिया