को हुन् प्रताप ,शरिरमा छर्रा बोकेर भोट माग्दै गए जनतासामु

घोराही, २९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार सुरेशबहादुर केसी (प्रताप) ले तत्कालिन जनयुद्धको समयमा गोलीका छर्रा बोकेर भोट माग्दै मतदाताको घरदैलो पुगेका छन् । आगामी मंसिर १४ गते हुने उपनिर्बाचनमा घोराही १६ को वडाध्यक्ष पदका उम्मेदवार केसीले छर्रा बोकेर मतदाता सामु भोट माग्दै आफुलाई जिताउन अपिल गरेका छन् । नेकपाको तर्फबाट उम्मेदवार बनेका प्रतापले आफ्नो पक्षमा मत पार्नका लागि चुनाबी प्रचारलाई निकै तिव्र दिन थालेको बताईएको छ ।

नेकपाका नेताहरुको सहभागीतामा प्रतापले निर्बाचनलाई बस्ती बस्तीमा लैजानका लागी घरदैलो अभियान चलाएका छन् । निर्बाचन परिचालन कमिटीको बैठक मार्फत् विभिन्न टोलस्तरका प्रचार समिति गठन समेत भएको छ । उनलाई जिताउनका लागी नेकपाका वडाध्यक्ष गजेन्द्रसिंह खड्का, सचिब देउमन परियार सहित स्थानीय कार्यकर्ताहरुले उम्मेदवार प्रतापलाई साथ दिईरहेका छन् । उम्मेदवार केसीले आफु पार्टीको सिपाही भएको प्रतिक्रिया दिदै निर्बाचनमा आफुलाई जनताले साथ दिने विश्वास गरेका छन् ।
घोराही १६ मा रहेका विभिन्न ३७ टोलहरुमा सम्पर्क कार्यालय स्थापना गरेर उम्मेदवार प्रतापले घरदैलो, भेटघाट, सभा जस्ता कार्यलाई दैनिक तीब्र बनाएका छन् । गएको कार्तिक २७ गते पार्टीका तर्फबाट आधिकारिक रुपमा उम्मेदवारी दर्ता गरेपछि चुनावी अभियानलाई अगाडी बढाएका छन् । साबिकको मानपुर गाबिसको बनकट्टीमा २०३९ साल मंसिर २० गते दामोदर केसी र मिना केसीको कोखबाट दोस्रो सन्तानका रुपमा जन्म लिएका केसी २०५४ सालमा नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियुको जिल्ला सदस्य बनेका थिए ।

मानपुरमा रहेको दिपेन्द्र माध्यामिक बिद्यालयमा कक्षा ७ मा अध्ययन गर्दैगर्दा जिल्ला सदस्य बनेका प्रतापले २०५७ सालदेखि जनयुद्धमा सामेल भएका हुन् । तत्कालिन जनयुद्धमा जनमिलिसियाबाट यात्रा गरेका प्रतापले चार बर्ष हिरासत र कारागारको जीवन बिताए ।
आठ महिना नेपाली सेनाको हिरासतमा बसेका प्रतापले त्यसबाहेक तुलसीपुर घोराहीमा रहेका कारागारमा जीवन बिताए । घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसबाट आइएसम्मको अध्ययन पुरा गर्नुभएका प्रतापले बाँकी अध्ययनलाई अगाडि बढाउन सकेनन् ।

जनआन्दोलन २०६२÷०६३ पश्चिात रिहा भएका प्रतापले शान्तिकालमा जनमुक्ति सेनामा रहेर काम गरे । तत्कालिन माओबादी अन्तर्गत रहेको जनमुक्ति सेनाको कम्पनी कमाण्डर समेत रहेका प्रतापले २०६८ सालदेखि जनमुक्ति सेनाको यात्रा छोडेका थिए । यसैबीच उम्मेदवार प्रतापले शुक्रबार मात्रै वडाका विभिन्न बस्तीमा पुगेका छन् । प्रतापले शुक्रबार मात्रै रातामाटा, तेरौटे, ठोकरैया, घमीडाँडामा प्रचार टोली लिएर स्थानीय मतदातासंग भेटघाट गरे ।

प्रकाशित मिति : २०७६ कार्तिक २९ गते शुक्रवार
प्रतिक्रिया