काम नगर्ने ठेकेदार र पशुकाे फाेटाेसंगै राखेर आन्दोलन

सञ्जीव दुलाल

भक्तपुर,२७ कार्तिक/  पर्यटकीय गन्तव्य नगरकोटको मुख्य सडक ६ वर्षसम्म निर्माण सम्पन्न नभएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । धुलोधुवाँ, हिलो र खाल्टाखुल्टीका कारण जनजीवन प्रभावित बनेको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् । दुई वर्षमा निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने भक्तपुरको भत्केकोपाटी हुँदै पर्यटकीय क्षेत्र नगरकोट पुग्ने सडक ६ वर्षमा पनि नबनेपछि स्थानीयवासीले समयमा काम नगर्ने ठेकेदार पशुसरह भएको भन्दै ठेकेदार शारदा अधिकारीको फोटोसँगै बाँदर र कुकुरको फोटो राखी विरोध गरेका हुन् । शैलुङ कन्ट्रक्सनले लामो समयदेखि नगरकोटको मुख्य सडक अलपत्र पार्दा स्थानीयवासीलाई ठूलो मर्का परेको भन्दै उनीहरूले यो सडक भएर गुड्ने सार्वजनिक यातायातका साधनमा ठेकेदार शारदा अधिकारीको फोटोसँगै बाँदर र कुकुरलगायत जनावरको फोटो टाँस गर्दै विरोध नयाँ थालनी सुरु गरेका छन् ।

सडक निर्माणका लागि पटकपटक अनुरोध गर्दा पनि नेकपाका अध्यक्ष प्रचण्डका घरबेटीसमेत रहेका ठेकेदार शारदा अधिकारीले अटेर गरेको भन्दै स्थानीयवासी एवं पर्यटन व्यवसायीले विरोधको नयाँ तरिका अपनाएको स्थानीयवासी धनबहादुर लामाले बताए । उनका अनुसार पर्यटकीय गन्तव्य नगरकोटको मुख्य सडक विस्तारका लागि तीनपल्ट म्याद थप भयो । तर, कामको गतिमा खासै सुधार छैन । नगरकोट घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयवासीले घाम लाग्दा धुलो र पानी परे हिलाम्य सडकका कारण सास्ती बेहोर्दै आएका छन् ।

प्रकाशित मिति : २०७६ कार्तिक २७ गते बुधवार
प्रतिक्रिया