डाक्टर गोविन्द केसीले १७ औँ अनशन स्थगित गरे

डडेलधुरा, २६ कात्तिक । १७औँ अनशन सुरु गरेका डाक्टर गोविन्द केसीले अनशन स्थगित गरेका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै गएको कात्तिक १७ गतेदेखि डडेल्धुरामा अनशन बसेका डाक्टर केसीले मंगलबार अनशन स्थगित गरेका छन् । भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग समेटिएको समाचारले अन्य नेपाली नागरिक जस्तै आफू पनि स्तब्ध भएको बताउँदै उनले हाललाई अनशन स्थगित गर्नु परेको उनले बताएका छन् । राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा सबैको संवेदनालाई हृदयंगम गर्दै जारी सत्याग्रह तत्कालका लागि स्थगन गरेको डाक्टर केसीले बताए ।

उनले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सीमा रक्षा राष्ट्रियताको पहिलो शर्त हो, सबल र आत्मसम्मानपूर्ण राज्यका लागि सीमा रक्षा मात्रै काफी चाहिं छैन,आम नागरिकको जीविका सहज हुने, गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध हुने तथा बिनाभेदभाव र बिनाभय सबै नागरिक बाँच्न पाउने अवस्थामा मात्र राष्ट्रियता बलियो हुन सक्छ ।’

डाक्टर केसीले पछिल्लो समय सीमा विवाद समाधानका लागि राजनीतिक दलबीच देखिएको एकताको पनि प्रशंसा गरे । अहिले नेपालको पश्चिमी सीमा मिचिएको विषयमा राजनीतिक शक्तिहरुबीच जुन अभूतपूर्व तदारुकता देखिएको छ, त्यो देखावटी मात्र नभई कुटनीतिक माध्यमबाट मिचिएको भूमि फिर्ता गर्नमा केन्द्रित होस् र त्यो प्रयासले परिणाम निकालोस् भन्ने चाहन्छौं विज्ञप्तीमा भनिएको छ । त्यसको अर्थ राज्यले गर्नैपर्ने बाँकी काम र जिम्मेवारीबाट उन्मुक्ति पाउने भन्ने किमार्थ हुँदैन ।

चिकित्सा शिक्षा क्षेत्रमा भएको १० अर्ब ठगीका अभियुक्त लगायतलाई न्यायको कठघरामा ल्याउने जिम्मेवारीबाट सरकार कसै गरे पनि तर्कन सक्दैन ।’स्वास्थ्य र चिकित्सा शिक्षा सुधार तथा सुशासनका लागि आफूहरुको लडाइँ जारी रहने तथा सरकारले माग पूरा नगरेको खण्डमा पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने पनि डाक्टर केसीले चेतावनी दिनु भएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक २६ गते मङ्गलवार
प्रतिक्रिया