काठमाडौं, २४ कात्तिक । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) युवक संगठनले राजधानीमा निकालेकाे मसाल जुलुसमाथि प्रहरीले लाठीचार्ज गरेकाे छ । भारतले कालापानी र लिपुलेकलाई मिचेर नयाँ नक्सा निकालेको विरोधमा मसाल जुलुस निकालेकाे थियाे ।
राप्रपा पार्टी कार्यलय धुमबाराहीबाट निस्केको मसाल जुलुस गैरीधारा पुगेपछि प्रहरीले लाठी चार्ज गरेको थियो । त्यसपछि दुई दर्जन बढी कार्यकर्तालाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा राप्रपा युवक संगठनका उपाध्यक्ष मणि सिंखडा, सहायक प्रवक्ता रमान्द न्यौपाने, सचिव सन्तोषी शाही ठकुरी, कर्ण बहादुर माझी र सशी भण्डारी, छत्र खडायत, निराजन बम, राजन अधिकारी, निशान कार्की, प्रदिप खड्का नरेश बिक, मुकेश पदारासहित दुई दर्जन बढी रहेका छन् । प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार प्रहरीले धेरैलाई घाइते बनाएको छ । उनले सीमा रक्षाका लागि सरकारलाई दवाव दिन निकालिएको जुलुसमा प्रहरीको दमन भएको भन्दै भत्सर्ना गरे ।