निवर्तमान सभामुख महराको थुनछेक बहस आज

काठमाडौँ १७ कात्तिक ।
निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दामा आईतवार देखि थुनछेक बहस सुरु हुँदैछ । गएको शुक्रबार जिल्ला अदालत काठमाडौँमा महराको बयान भएको थियो । समय अभावका कारण सो दिन थुनछेक बहस सुरु हुन सकेको थिएन । आजदेखि भने महरालाई थुनामै राखेर मुद्दाको थप कारवाही अघि बढाउने वा धरौटीमा छोड्ने भन्ने विषयमा जिल्ला अदालत काठमाडौँमा बहस हुनेछ ।
जिल्ला अदालत काठमाडौँका मुख्य न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा थुनछेक बहस हुनेछ । गएको बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयले करणी प्रयासको अभियोगमा साढे सात वर्ष जेल सजायको दाबीसहित महरा विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । शुक्रबार अदालतले लिएको बयानमा महराले यसअघि प्रहरी समक्ष दिएको बयान जस्तै घटना भएको भनिएको दिनमा आफू तीनकुने क्षेत्रमा पुगेको तर रोशनी शाहीको घरमा नपसेको बताउनुभएको थियो ।
महराले प्रहरी समक्ष जस्तै अदालत समक्ष पनि आफूमाथि लागेको आरोप पूर्ण रुपमा अस्वीकार गर्नुभएको छ । शुक्रबार बयान लिइएकाले आज बहस सुरु गर्दै सरकारी वकिलले पीडित महिलाको पक्षबाट वकालत गर्नेछन् । त्यसपछि महरा पक्षका वकिलहरुले बहस गर्ने छन् । महराको पक्षमा बहस गर्नका लागि शुक्रबारसम्म ३० भन्दा बढी वकिलहरुले नाम लेखाएका छन् । महरालाई संसद सचिवायलकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोग लागेको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक १७ गते आइतवार
प्रतिक्रिया