गरिमा धान रोपेका किसानले क्षतिपूर्ति पाउने

सिर्जना बराल
काठमा्नडौ, १६ कार्तिक/ काठमाडौं । धानको बीउ नै नक्कली परेपछि तराइका कतिपय जिल्लामा रोपिएको धान बालीमा बाला लागेन । धान भित्र्याउने बेलामा पनि बाला नलागेपछि किसानहरु निराश बनेका छन् ।

अघिल्लो बर्ष रौतहट, बारा, पर्सा लगायत तराइका जिल्लामा लगाईएको मकैबालीमा पनि घोगा नलाग्ने समस्या भएको थियो । यस्ता समस्या बारम्बार भएपछि नेपालमा बीउ बिजनको खरिद विक्रि कसरी भइरहेको छ ? भन्ने प्रश्न उठेको छ ।

भारतीय उत्पादन गरिमा जातको धान तराईका क्षेत्रमा पनि राम्रो फलेपछि सरकारले २०७२ मा नेपालमा सूचीकृत गरेको थियो । यस अगाडीका बर्षमा उत्पादन राम्रो भएको भएपनि यसपटक किसानले रोपेको धानमा बाला लागेन ।

दाङ, बारा, रौतहट, पर्सा, कपिलवस्तु, चितवन, कैलाली लगाएत जिल्लामा लगाईएको धानमा बाला लागेन । मानो रोपेर मुरी फलाउने समयमा किसानको भकारी रित्तै भएको छ ।

यसैबीच, सरकारले गरिमा धान भनेर नक्कली धानको बिउ बेच्ने कम्पनीबाट किसानलाई क्षतिपूर्ति भराउने भएको छ ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हिजोको बैठकमा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सहसचिव रघुराम विष्टले गरिमा धानमा बाला नलागेपछि पीडित बनेका किसानलाई क्षतिपूर्ति भराउने बताउनुभयो ।

गरिमा जातको धानले बाला नहाल्दा भएको क्षतिबारे अध्ययन गर्न मन्त्रालयले एक समिति बनाएको छ । एक महिनामा प्रतिवेदन आउने र त्यसपछि क्षतिपूर्ति बारे टुंगो लाग्ने कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री राम कुमारी चौधरीले सीआईएनसँग बताउनुभयो ।

प्रकाशित मिति : २०७६ कार्तिक १६ गते शनिवार
प्रतिक्रिया