छर्ठ पर्वको तेस्रो दिन , आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइने

काठमाडौ, १६ कात्तिक । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइने छठ पर्व आज बेलुकी मनाइँदैछ ।छठ पर्वको तेस्रो अर्थात् मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बिहीबारदेखि सुरु भएको हो ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम त्यही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात् भएको विश्वास गरिन्छ ।संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ ।
प्रधानमन्त्रीद्धारा शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले छठपर्वले मानवीय भावनालाई अझ व्यापक बनाउने बताउनुभएको छ ।छठ पर्वको अवसरमा शनिबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले छठलाई कृतज्ञता, प्रकाश र जीवनको चाडको रूपमा स्मरण गर्नुभएको छ । ‘यो कृतज्ञता र प्रकाशको चाड हो । यो न्यानोपनको चाड हो । यो जीवनको र सृष्टिको चाड हो’, उहाँले सन्देशमा भन्नुभएको छ, ‘यो सम्पूर्ण सृष्टिप्रति सर्वा्धिक बढ्ता योगदान र गुण भएका सूर्यको स्तुति गर्ने चाड हो र यसले मानवीय भावनालाई वास्तविक अर्थमा व्यापक बनाउन मद्दत गर्ने चाड हो ।’
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र एकताका साथै उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । छठ पर्वले सामाजिक एकता प्रवर्द्धन तथा आपसी सद्भावलाई सुदृढ तुल्याउन महत्वपूर्ण योगदान पुग्न सकोस् भन्ने कामना राष्ट्रपतिले गर्नुभएको छ ।त्यस्तै छठ पर्वका अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना व्यक्त गर्नु भएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक १६ गते शनिवार
प्रतिक्रिया