जिल्लामा खनिएका ७० वटा डिपवोरिङ अलपत्र,तुलसीपुर २ मा मात्रै ८ वटा प्रयोग विहिन

लक्ष्मण विश्वकर्मा, तुलसीपुर, १४ कात्तिक । भुमिगत जलश्रोत तथा सिचाई डिभिजन कार्यालय लमही दाङ मार्फत जिल्लाका विभिन्न स्थानमा सिँचाईका लागी खनिएका ७० स्थानका डिपबोरिङ प्रयोगविहिन बनेका छन् । जिल्लाका विभिन्न स्थानमा आर्थिक वर्ष ०७३÷०७४ र ०७४÷०७५ मा जिल्लामा सिचाईका लागी खनिएका डिपवोरिङहरु प्रर्याप्त बजेट नहुदा अहिले सम्म प्रयोगमा आउन नसकेको कार्यालयका निमित्त प्रमुख किरण कुमार चौधरीले जानकारी दिएका छन् ।
खेतीयोग्य जमिनमा सिचाईको सुविधा पु¥याउने लक्ष्यका साथ विभिन्न स्थानमा डिपवोरिङ खनिएको थियो । मन्त्रालयको बजेटबाट डिपवोरिङ निर्माण गरिएको भएपनि अझै केहि काम बाँकी रहेकाले ती डिपवोरिङ पुर्ण पुरुमा सम्पन्न नभएको उनले बताएका छन् । ती डिपवोरिङ खन्दा करोडौ रकम खर्च भईसकेपनि सन्चालनमा ल्याउनलाई अझै केहि बजेटको आबश्यक पर्ने निमित्त प्रमुख चौधरीले बताएका छन् ।
एउटा डिपबोरिङ खन्दा झन्डै २० लाख बजेट खर्च भएको छ ।यसरी हेर्दा जिल्लाभर डिपवोरिङ खन्दा करोडौ रुपैया वजेट खर्च भईसकेको छ । आबश्यक बजेटका लागी पाँच नम्वर प्रदेश सरकारसंग आफुले बारम्बार पहल गरीरहेको उनले बताएका छन् । पहिले संघिय सरकारबाट बजेट विनियोजन भएकोमा अहिले प्रदेश सरकारले त्यसको व्यवस्थापन गर्नुपर्ने भएकाले बजेट विनियोजनमा समस्या भएको उनको भनाई छ । अहिले प्रदेश सरकारले वजेट विनियोजन गर्नुपर्ने हो उनले भने तर पटकपटक बजेट माग गरेका छौ ।
तुलसीपुर २ मा आठ वटा डिपवोरिङ अलपत्र
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ मा सिंचाईका लागी खनिएका डिपवोरिङ अलपत्र अवस्थामा रहेको वडा अध्यक्ष राजु आचार्यले बताएका छन् ।वडाका विभिन्न स्थानमा निर्माण गरिएका आठ वटा डिपवोरिङ विगत लामो समय देखी प्रयोग विहिन भएका छन् ।
वडाको पहलुवा, मनिकापुर, तकियापुर, कुमलगढी, मचोट लगाएतका स्थानमा सिचाईका लागी खनिएका डिपबोरिङ अहिले प्रयोगमा आउन सकेका छैनन् ।
भुमिगत जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय लमहीद्धारा खनिएका ती डिपवोरिङका लागी झन्डै डेढ करोड बजेट खर्च भईसकेको छ । तर पनि अहिले सम्म प्रयोगमा आउन सकेको छैन । वडा अध्यक्ष आचार्यले डिपवोरिङलाई प्रयोगमा ल्याउनका लागी सम्वन्धित निकायलाई बारम्बार लिखित र मौखिक दुवै माध्यमबाट पत्राचार गदै आएको बताएका छन् ।

तर पनि कुनै सुनुवाई नभएको उनको गुनासो छ । किसानलाई सिंचाईको लागी पानीको समस्या भएपनि खनिएका डिपवोरिङ भने प्रयोगमा ल्याउन नसकिएको अध्यक्ष आचार्यले बताएका छन् ।उक्त डिपवोरिङ सन्चालनका लागी आफुले सम्वन्धित निकायहरुमा पहल गरीरहेको अध्यक्ष आचार्यको भनाई छ । वडामा खेतीयोग्य जमिन प्रसस्त भएपनि प्रर्याप्त सिचाईको सुविधा नहुदा वडाका किसानहरुलाई समस्या भएको बताईएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक १४ गते बिहिवार
प्रतिक्रिया