विकृति विसंगतिको अन्त्य गर्दै मौलिकता जोगाऔं: नगरप्रमुख पाण्डे

तुलसीपुर,१२ कार्तिक । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले उज्यालो र रङ्गहरूको महान पर्व तिहारको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नगरवासी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एंव दीर्घायुको मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

नगरप्रमुख पाण्डेले चाडपर्वका नाममा भित्रिएका विकृति विसंगतिको अन्त्य गर्दै मौलिकता जोगाउने गरी मनाउनुपर्ने उल्लेख गरेका छन् । “चाडपर्वका नाममा भित्रिएका विकृतिले समाजलाई विभाजित वनाउने भएकाले त्यस्ता कुराबाट हामी टाढै रहनुपर्दछ” शुभकामना सन्देशमा उल्लेख गरिएको छ । तिहारमा जुवातास खेल्ने, पटाका पट्काउने र तडकभडक गर्ने कामको अन्त्य गर्नका लागि सबैले ध्यान दिनुपर्ने उनको भनाई छ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्रको विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी तथा विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको नगरप्रमुख पाण्डेले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

महान् चाड तिहार र नेपाल संवतले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गरेर राष्ट्रिय एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै नगरप्रमुख पाण्डे यी पावन अवसरले ‘समृद्ध नेपाल, सुखी नेपाली’को चाहनालाई पूरा गर्न तथा सबै नगरवासीलाई एकाकार भएर अगाडि बढ्न प्रेरणा दिउन् भन्ने कामना व्यक्त गरेका छन् । साथै उनले चाडपर्वमा गलत क्रियाकलाप गर्नुका साथै अरुलाई देखाउनका लागि भन्दा पनि पारिवारीक मेलमिलाप र खुसीका साथमा मनाउन आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : २०७६ कार्तिक १२ गते मङ्गलवार
प्रतिक्रिया