तुलसीपुरमा पास्नीकाे भोज खाँदा १८ जना बिरामी

लक्ष्मण विश्वकर्मा,

तुलसीपुर ११ कात्तिक । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ कालोखोला मटेरा स्थित आफन्तीको घरमा भोज खाएका १८ जना  बिरामी परेका छन् । स्थानिय बसन्त रिजालको घरमा भोज खाएका उनीहरु एकाएक विरामी परेपछि अहिले विभिन्न अस्पतालमा उनीहरुको उपचार भईरहेको छ । बसन्तको छोराको भातखुवाई(पास्नी)मा भोज खाँदा उनी सहित उनका आफन्ती र स्थानिय विरामी परेका छन् । घटना यहि कात्तिक ८ गते शुक्रवार भएको हो ।

उक्त दिन भात,दाल, तरकारी,अचार, मासुको परिकार बनाईएको थियो । तर भोजमा मासु सहित खाना खाएका सवै विरामी परेका छन् भने मासु बिना खाना खाएकाहरु विरामी नपरेको विरामी बसन्तको भनाई छ । उक्त दिन खाना खाईसकेपछि साँझ पख एकाएक वाकवाकी लाग्ने र बारम्वार दिशा लागेपछि राती नै अस्पताल पुगेको उनको भनाई छ । मासु सहित खाना खाएका अन्य मानिसलाई पनि वाकवाकी लाग्ने, बान्ता हुने, पटकपटक दिशा लागेपछि अहिले उनीहरुको उपचार भईरहेको छ ।

बिरामी मध्ये अहिले ८ जनाको चिनारी हस्पीटल तुलसीपुर, तिन जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, ३ जनाको नेपालगन्ज नसिंङ होम र दुई जनाको काठमाडौमा उपचार भईरहेको छ । बिरामी भएका मध्ये दुई जनाको सामान्य उपचार पछि घर फर्किएको बताईएको छ ।  अन्य बिरामीहरूकाे स्वास्थ्य अवस्था सुधार हुदै गएकाे चिकित्सकले बताएका छन ।    बिरामी पर्नेमा कालोखोला निवासी अपाङग मानव अधिकार एवं सरोकार मन्च नेपालका निवर्तमान अध्यक्ष बासुदेव रिजाल समेत रहेका छन् । विरामी परेकाहरुले मासुमा कुनै समस्या भएको हुन सक्ने आसंका गरेका छन् । पर्सेनीमा रहेको पन्थी फ्रेस हाउसबाट ३० किलो मासु ल्याएको बताईएको छ । मासु खाएकाहरु मात्रै विरामी परेकाले मासुमा नै संका गरिएको एक विरामीले बताएका छन् ।

 

प्रकाशित मिति : २०७६ कार्तिक ११ गते सोमवार
प्रतिक्रिया