‘चाहिए जति बत्ती बाल्नुहोस्, लोडसेडिङ हुँदैन’

पूजा चँदारा

काठमाडौं । उपभोक्ताले तिहारमा आवश्यकताअनुसार जति पनि विद्युत् उपयोग गर्न पाउने भएका छन् । झिलिमिली बत्तीको उज्यालोमा मनाइने तिहारमा यसपालि उपभोक्ताले चाहे जति बिजुली बाल्न पाउने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । तिहारमा घरवरपर बिजुली बत्ती बालेर झिलिमिली बनाए घरमा लक्ष्मीको आगमन हुन्छ भन्ने मान्यता छ । यस आधारमा लक्ष्मी पूजाको दिन वर्षभरिका अन्य सामान्य दिनको तुलनामा सबैभन्दा बढी विद्युत् माग हुने गरेको छ । यस दिन अत्यधिक बढ्ने मागलाई धान्न विद्युत् प्राधिकरणले तयारी समेत गरिसकेको छ ।
प्राधिकरणका डीसीएसका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले देशभर कुनै पनि ठाउँमा लोडसेडिङ नहुने बताए । ट्रान्सफर्मरले लोड धान्न नसकेर ट्रिपिङ हुने खालका समस्या आउन नदिन तयारी भइरहेको पनि उनले जानकारी दिए । कुनै स्थानमा समस्या आइहाल्यो भने पनि तत्काल सम्बन्धित स्थल पुगेर मर्मत गर्न नो–लाइटको टिम तयारी अवस्थामा राखिएको न्यौपानेले बताए ।

गत वर्ष पनि लक्ष्मी पूजाका दिनमा प्राधिकरणले कतै पनि बत्ती नकाटिने गरी लोडसेडिङ व्यवस्थापन गरेको थियो । प्राधिकरणले तिहारका लागि सबै जलविद्युत् गृह, सबस्टेसन, प्रसारणलाइन तथा ट्रान्सर्फमरको नियमित मर्मत गरेको छ ।
लक्ष्मीपूजाको दिन सबैभन्दा बढी विद्युत्को माग काठमाडौं उपत्यकामा हुने गरेको छ । ललितपुर, भक्तपुरसहित देशको मुख्य सहरी क्षेत्रमा पनि ठूलो मात्रामा बिजुलीको माग हुने गरेको छ । गत वर्ष तिहारका १३ सय मेगावाट विद्युत् खपत भएको थियो । यसपालि भने १५ सय मेगावाट विद्युत् खपत हुने अनुमान गरिएको छ । ‘यसका लागि हामीसँग पर्याप्त विद्यु्त् छ,’ प्राधिकरणका उपकार्यकारी निर्देशक न्यौपानेले भने, ‘हामीसँग गत वर्षको तुलनामा २४० मेगावाट विद्युत् प्रणालीमा थप जोडिएको छ । जसमध्ये निजी क्षेत्रबाट १५० मेगावाट र प्राधिकरणको ७४ मेगावाट विद्युत् प्रणालीमा जोडिएको हो ।’
वार्षिक रूपमा हाल प्राधिकरणको ९ हजार ५ सय ८० मेगावाट, निजी क्षेत्रको १० हजार ४ सय ९४ मेगावाट र आयात १ हजार ९ सय ७५ मेगावाट गरिरहेको छ ।

देशभरका सबस्टेसनलाई पनि समस्या नआउने गरी सम्भार गरिएको छ । लक्ष्मीपूजाका दिन साढे ३ सय मेगावाटको हाराहारीमा विद्युत् खपत गर्ने उद्योगहरू भने बन्द गर्ने प्राधिकरणको योजना छ । ‘तिहारमा जति माग आए पनि सुविधाजनक छौं, हाम्रो प्रणाली फुल लोडमा छन्,’ न्यौपानेले भने, ‘बिजुली अभाव भएर कतै बिजुली काट्नुपर्ने अवस्था आउँदैन ।’
नेपाल विद्युत् प्राधिकरणले तिहारमा आफ्नो उत्पादन केन्द्र र साइट नछाड्न विद्युत् उत्पादन, सञ्चालन सम्भार विभाग मातहतका कर्मचारीलाई यसअघि नै निर्देशन समेत दिइसकेको छ । प्राधिकरणले मेसिन, उपकरण र मर्मतको जिम्मेवारी लिएका कर्मचारीलाई पनि साइट नछाड्न निर्देशन दिएको हो ।
केही वर्ष अगाडिसम्म लक्ष्मी पूजाका दिन प्राधिकरणले झ्यापझ्याप बत्ती काटेर जनताले सास्ती खेप्नुपर्ने अवस्था थियो तर अब यो अवस्थाको अन्त्य भइसकेको छ । चार वर्षदेखि प्राधिकरणले तिहारमा बत्ती काट्न छाडेको छ ।

तिहारमा आगलागीबाट बचौं

प्रत्येक वर्षजसो तिहारमा बत्तीको प्रयोग बढी हुने हुँदा आगलागी हुने गर्दछ । आगलागी प्राकृतिक विपत्ति होइन, मानवीय त्रुटिका कारण हुने घटना हो त्यसैले आफ्नो नियन्त्रणमा रहने गरी नै बत्तीको प्रयोग गर्नुपर्छ ।
काठमाडौंलगायत सहरी क्षेत्रमा आगलागी हुने तिहारमा गरिने दीपावली र विद्युत् मुख्य दुई कारण हुन् । जुद्ध वारुण यन्त्रका अनुसार तिहारमा आगलागीको सम्भावना धेरै हुने गरेको छ ।

दुर्घटना हुने कारण

तिहारमा ‘धनकी देवी’ लक्ष्मी भिœयाउने धार्मिक विश्वाससँगै घर सफा सुग्घर गर्ने, फूलमालाले सजाउने र दियो बाल्ने चलन छ । घर फोहोर भए वा उज्यालो नभए लक्ष्मीले बास नगर्ने भन्ने मान्यताअनुसार तिहारका बेला घर सजाउने तथा घरवरपर उज्यालो बनाउन दियो बाल्ने गरिन्छ । यसका लागि मानिसले माटोका परम्परागत पाला तथा मैनबतीका साथै इलेक्ट्रिक दियो पनि बाल्ने गर्छन् । तर, चाडपर्वका बेला यस्ता सामग्रीको प्रयोगमा सावधानी नअपनाउँदा अप्रिय घटना हुने गरेका छन् ।
तिहारमा घरवरपर दियो बाल्ने परम्परा छ । चारैतिर दियो बाल्दा आगो लाग्ने सम्भावना बढ्छ । साथै, लक्ष्मी पूजा गर्दा दियो र कपडा चढाउने गरिन्छ । दियो र कपडा एकै ठाउँमा हुने हुँदा पनि आगो सल्कने सम्भावना हुन्छ ।
तिहारमा सबैका घरमा इलेक्ट्रिक लाइट बालिन्छ । साथै, घरमा भएका सबै इलेक्ट्रोनिक्स सामग्री (फ्रिज, माइक्रोओभन, टेलिभिजन, राइसकुकर) पनि एकैपटक प्रयोग गर्ने गरिन्छ । यसरी सबै इलेक्ट्रिक सामग्री प्रयोगमा ल्याउँदा ओभरलोड भई विद्युत् सट हुने सम्भावना हुन्छ ।

डेकोरेटिभ लाइट पनि सट हुने अर्को कारण हो । यस्तो लाइटमा मसिनो तारको प्रयोग गरिएको हुन्छ । यस्तो लाइट धेरैजसो घरबाहिर झुन्ड्याइन्छ । यसरी जथाभावी प्रयोग गर्दा सट हुने सम्भावना हुन्छ । आगलागी हुने अर्को प्रमुख कारण ग्याँस हो । काठमाडौंलगायत सहरमा घरको छत (भान्साभन्दा बाहिर खुला ठाउँ)मा चुलो बनाउने गरिन्छ । यसरी बाहिर चुलो बनाउँदा ग्याँस लिक भएर तथा हावाले आगो बत्ताएर पनि आगो लाग्ने गर्छ । यसैगरी, परिकार बनाउँदा तेलको प्रयोग बढी हुन्छ । पर्वको रमझममा धेरै मानिसको काममा ध्यान पुग्दैन त्यसैले कहिलेकाहीँ तेल धेरै तातेर आगो बल्ने, तेल पोखिने, तेल उछिट्टिएर शरीरमा पर्नेजस्ता दुर्घटना हुन्छन् ।

प्रकाशित मिति : २०७६ कार्तिक ८ गते शुक्रवार
प्रतिक्रिया